मिनेसोटा घटनामा ट्रम्पको कडा टिप्पणी: “सुरक्षाकर्मीमाथिको आक्रमण स्वीकार्य छैन!”

इनेप्लिज २०८२ पुष २३ गते २३:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटाको मिनियापोलिसमा घटेको एउटा श्रब्यदृश्य( भिडियो )सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उक्त श्रब्यदृश्य (भिडियो)मा एकजना महिलाले कार चलाएर अध्यागमन विभागका अधिकारीलाई ठक्कर दिएको देखिन्छ।

ट्रम्पका अनुसार उक्त श्रब्यदृश्य हेर्दा निकै डरलाग्दो छ। उनले कार चलाउने महिलाले नियम पालना नगरेको, अवरोध सिर्जना गरेको र जानीजानी सुरक्षा अधिकारीमाथि हिंसात्मक रूपमा गाडी कुदाएको बताएका छन्।

ट्रम्पले भनेका छन्, “ती अधिकारीले आत्मरक्षाका लागि गोली चलाएको देखिन्छ। गाडीको ठक्करबाट उनी जीवितै रहेको देख्दा अचम्म लाग्छ, तर अहिले उनको अस्पतालमा उपचार भइरहेको छ।”

ट्रम्पले यस घटनाको दोष ‘रेडिकल लेफ्ट’ (कट्टर वामपन्थी) विचारधारा बोकेका मानिसहरूलाई दिएका छन्। उनका अनुसार यस्ता समूहहरूले दैनिक रूपमा प्रहरी र सुरक्षा गुप्तचरहरूलाई धम्की दिने, आक्रमण गर्ने र निशाना बनाउने गरेका छन्, जसले गर्दा यस्ता दुखद घटनाहरू निम्तिएका हुन्।

अन्त्यमा, उनले अमेरिकालाई सुरक्षित बनाउन दिनरात खट्ने सुरक्षाकर्मीहरूको पक्षमा उभिन र उनीहरूलाई घृणा र हिंसाबाट जोगाउन सबैलाई आग्रह गरेका छन् । उनी भन्छन्, “हामीले हाम्रा कानुन कार्यान्वयन गर्ने अधिकारीहरूको सम्मान र रक्षा गर्नुपर्छ।”

प्रतिक्रिया