
अमेरिकाले भेनेजुएलासँग सम्बन्धित एक तेल जहाज(ट्यांकर)लाई नियन्त्रणमा लिन बुधबार विशेष सैन्य–सामुद्रिक कारबाही सञ्चालन गरेको छ।
‘मारिनेरा’ नामक उक्त तेल जहाज(ट्यांकर) जसलाई पहिले ‘बेला–१’ भनेर चिनिन्थ्यो । यसलाई उत्तर एटलान्टिक महासागरमा जफत गरिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।
अमेरिकी युरोपियन कमाण्डले तेलजहाज(ट्यांकर) नियन्त्रणमा लिइएको पुष्टि गर्दै उक्त जहाजले अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको पाइएको बताएको छ ।
अमेरिकी संघीय अदालतबाट जारी गरिएको पक्राउ पूर्जी(वारेन्ट)का आधारमा अमेरिकी तटरक्षक जहाज युएससिजिसि मुनरोले लामो समयदेखि निगरानी गरिरहेको तेल ढुवानी जहाज नियन्त्रणमा लिइएको हो।
अमेरिकाले यो ट्यांकरलाई गएको महिनादेखि पछ्याइरहेको थियो।
सीबीएस न्यूजले सोमबार नै अमेरिकाले उक्त जहाजलाई रोक्ने योजना बनाइरहेको समाचार सार्वजनिक गरेको थियो। ट्यांकर पछ्याउने क्रममा कूटनीतिक र सैन्य तनाव पनि देखिएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार तेल ढुवानी जहाज(ट्यांकर)लाई सुरक्षा दिन रूसले एक पनडुब्बी सहित अन्य नौसैनिक जहाजहरू तैनाथ गरेको थियो।
यद्यपि, कुनै प्रत्यक्ष सैन्य झडप नभई अमेरिकाले कानुनी प्रक्रिया अनुसार ट्यांकर नियन्त्रणमा लिन सफल भएको जनाइएको छ।
प्रतिक्रिया