इरानको कडा चेतावनी: “हामीमाथि आक्रमण गर्नेको हात काटिदिनेछौँ”

इनेप्लिज २०८२ पुष २३ गते १२:२५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणीपछि इरान र अमेरिकाबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ। ट्रम्पले इरानमा भइरहेको प्रदर्शनमा हिंसा भए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानका सेना प्रमुखले कडा जवाफ दिएका छन्।

इरानी सेनाका प्रमुख उपरथी (मेजर जनरल )अमीर हातामीले भनेका छन् कि इरान विरुद्ध भइरहेका यस्ता धम्कीहरूलाई टुलुटुलु हेरेर बसिने छैन। उनले “हाम्रो विरुद्ध कसैले गल्ती गरेमा हामी पहिले नै आक्रमण गर्न सक्छौँ र आक्रमणकारीको हात काटिदिनेछौँ” भन्दै चेतावनी दिएका छन्।

इरानमा अहिले महँगी निकै बढेको छ। देशको मुद्रा (रियाल) को मूल्य घटेर ऐतिहासिक रूपमै कमजोर भएको छ। यसले गर्दा तेल, चामल र मासु जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य तेब्बर हुनसक्ने डर छ। जनताको आक्रोश शान्त पार्न इरान सरकारले करिब ७ करोड मानिसलाई प्रतिमहिना ७ डलरका दरले नगद बाँड्न सुरु गरेको छ।

ट्रम्पले इरानी प्रदर्शनकारीको समर्थनमा बोलेपछि इरान सरकार रिसाएको हो । इरानका उप-राष्ट्रपतिले देश अहिले “पूर्ण आर्थिक युद्ध” मा रहेको बताएका छन्। साथै अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गरेपछि इरान पनि सतर्क र आक्रोशित बनेको हो।

प्रतिक्रिया