रुस र इरानको अमेरिकालाई कडा चेतावनी: “भेनेजुएलाको भविष्य उसैलाई रोज्न देऊ”

इनेप्लिज २०८२ पुष २३ गते ११:१४ मा प्रकाशित

रुस र इरानले भेनेजुएलाको वर्तमान सरकार र त्यहाँका जनताको समर्थनमा नयाँ आधिकारिक वक्तव्य जारी गरेका छन्। यी दुवै देश लामो समयदेखि भेनेजुएलाका घनिष्ठ मित्र हुन् र उनीहरूले निकोलस मादुरोको सरकारलाई साथ दिँदै आएका छन्।

रुसको परराष्ट्र मन्त्रालयका अनुसार भेनेजुएलाले अहिले सामना गरिरहेको बाहिरी सशस्त्र आक्रमण र धम्कीको विरुद्धमा आफ्नो शक्ति र एकता जोगाउन खोजिरहेको छ। रुसले भनेको छ, “हामी भेनेजुएलाको सरकार र जनतासँग सधैं साथ छौँ। एउटा असल मित्रको नाताले हामी आवश्यक पर्ने जुनसुकै सहयोग गर्न तयार छौँ।”

भेनेजुएलाको भाग्य कस्तो हुने भन्ने निर्णय त्यहाँकै जनताले गर्न पाउनुपर्छ र यसमा अरू कुनै देशले दखल दिनु हुँदैन,बिज्ञप्तिमा भनिएको छ ।

त्यस्तै इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले कुनै पनि देशको स्वतन्त्रता र सिमाना मिच्नु गलत भएको बताएका छन्। उनले अमेरिकाको कदमले अन्तर्राष्ट्रिय नियमहरू उल्लंघन गरेको र यसले पूरै विश्वलाई नराम्रो असर पार्ने चेतावनी दिएका छन्।

इरानका अनुसार अमेरिकाको यस्तो कार्यको सबैले विरोध गर्नुपर्छ र यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्छ।

विश्वका शक्तिशाली देशहरू बीचको खिचातानीले गर्दा भेनेजुएला अहिले चर्चामा छ। रुस र इरानले भेनेजुएलालाई आफ्नै खुट्टामा उभिन दिनुपर्ने र बाहिरी दबाब दिन नहुने कुरामा जोड दिएका छन्।

प्रतिक्रिया