भेनेजुएलाको तेलमा अमेरिका र चीनको खिचातानी: ट्रम्पले ल्याए अर्बौ डलरको नयाँ योजना

इनेप्लिज २०८२ पुष २२ गते १:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको बिग्रिएको तेल उद्योगलाई १८ महिनाभन्दा कम समयमै फेरि सुचारु गर्न सकिने बताएका छन् । हालै एक अन्तर्वार्तामा उनले भने अमेरिकी सरकारले सहयोग गरेमा त्यहाँको तेल उत्पादनलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ।

भेनेजुएला विश्वमै सबैभन्दा धेरै तेल भण्डार भएको देश हो। तर, लामो समयदेखिको भ्रष्टाचार, खराब व्यवस्थापन र अमेरिकी प्रतिबन्धका कारण अहिले त्यहाँको तेल उत्पादन निकै घटेको छ। सन् १९९९ मा भेनेजुएलाले दैनिक ३५ लाख ब्यारेल तेल निकाल्ने गर्थ्यो, तर अहिले यो घटेर मात्र ११ लाख ब्यारेलमा खुम्चिएको छ। ट्रम्पले अमेरिकी तेल प्रतिष्ठानहरूलाई भेनेजुएलामा लगानी गर्न आग्रह गर्दै उनीहरूले खर्च गरेको पैसा पछि सरकारी राजस्व वा अन्य माध्यमबाट फिर्ता दिने आश्वासन दिएका छन्।

एपीका अनुसार यद्यपि, यो काम सोचेजस्तो सजिलो भने छैन। भेनेजुएलाले विगतमा चीनसँग अर्बौ डलर ऋण लिएको छ। सम्झौता अनुसार भेनेजुएलाले बेच्ने तेलबाट आउने पैसा सबैभन्दा पहिले चीनलाई तिर्नुपर्ने हुन्छ। चीनले भेनेजुएलालाई करिब १० बिलियन डलरभन्दा बढी ऋण दिएको अनुमान छ।

चीनको यो प्रभावलाई कम गर्न ट्रम्पले ‘मोनरो डक्ट्रिन’ भनिने नयाँ नीति अपनाउन खोजेका छन् जसको अर्थ दक्षिण अमेरिकामा अरू देशको भन्दा अमेरिकाकै बढी प्रभाव रहोस् भन्ने हो।

विज्ञहरूका अनुसार भेनेजुएलाको राजनीतिक अवस्था अझै अस्थिर रहेकाले त्यहाँ अर्बौ डलर लगानी गर्न तेल प्रतिष्ठानहरू अझै हच्किरहेका छन्। तर ट्रम्प भने ठूलो लगानी गरेर यो क्षेत्रलाई आफ्नै नियन्त्रणमा राख्न चाहन्छन् ।

प्रतिक्रिया