अमेरिकाको मिनियापोलिसमा ‘महा-छापा’: २,००० गुप्तचर परिचालन, ३० दिने विशेष अभियान अन्तर्गत बृहत स्तरमा धरपकड सुरु

इनेप्लिज २०८२ पुष २२ गते १:०७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मिनेसोटा राज्यको ‘ट्विन सिटीज’ क्षेत्रमा २,००० भन्दा बढी संघीय गुप्तचरहरू परिचालन गरेको छ।

यो अमेरिकाको इतिहासमै कुनै एक शहरमा गरिएको सबैभन्दा ठूलो सुरक्षा परिचालन मध्ये एक हो। यो ३० दिने विशेष अभियान मुख्य गरी अवैध आप्रवासीहरूलाई पक्राउ गर्न र सरकारी कोषमा भएको अर्बौँ डलरको ठगी अनुसन्धान गर्न केन्द्रित छ।

यस कारवाहीमा आइसिइ अर्थात् अध्यागमन तथा भन्सार प्रवर्तन बिभाग तथा गृह सुरक्षा अनुसन्धान (एचएसआइI) का विशेष टोलीहरू सहभागी छन्। यति ठुलो संख्यामा गुप्तचरहरू परिचालन गरिएको छ कि यो एरिजोना राज्यमा खटिने कुल गुप्तचरहरूको संख्या बराबर छ। चर्चित सेनापति ग्रेगोरी बोभिनोको नेतृत्वमा यो टोलीले मिनेसोटामा आप्रवासीहरू पक्राउ गर्ने र नक्कली कागजात बनाउनेहरूको खोजी गर्नेछ।

यो कडाइको मुख्य कारण मिनेसोटामा पछिल्ला वर्षहरूमा देखिएका ठुला ठगी काण्डहरू हुन्। कोरोना महामारीका बेला बाँडिएको राहत र बालबालिकाको पोषण कार्यक्रममा अर्बौँ डलर दुरुपयोग भएको पाइएको छ।

सन् २०२१ देखि अहिलेसम्म ९० जनाभन्दा बढीमाथि मुद्दा चलिसकेको छ। यस कारबाहीले गर्दा मिनेसोटामा बस्ने सोमाली–अमेरिकी समुदायमा ठुलो त्रास फैलिएको छ।

राष्ट्रपति ट्रम्पले हालै सोमालियाबाट आएका मानिसहरूका बारेमा कडा र अपमानजनक टिप्पणी गर्दै उनीहरूलाई देशबाट निकाल्ने चेतावनी दिएका थिए ।

यसै बीच, मिनेसोटाका गभर्नर टिम वाल्जले यो राजनीतिक दबाब र आलोचनाका कारण अर्को पटक चुनाव नलड्ने घोषणा गरेका छन्। अमेरिकी सरकारले मिनेसोटालाई दिने करोडौँ डलरको अनुदान समेत रोक्का गरेको छ, जसले गर्दा त्यहाँको राजनीति र जनजीवनमा ठुलो प्रभाव परेको छ।

प्रतिक्रिया