
अमेरिकी रक्षा सचिव पिट हेगसेथले हालै भेनेजुएलाको राजधानी कराकासमा एक ठुलो सैन्य कारवाही सम्पन्न भएको बताए । उनका अनुसार यस कारवाहीमा करिब २०० अमेरिकी सेना सहभागी थिए।
सचिव हेगसेथले भर्जिनियामा आयोजित एक कार्यक्रममा बोल्दै भेनेजुएलाका नेता निकोलस मदुरो र उनकी पत्नीलाई अमेरिकी सेना आउँदैछ भन्ने कुरा उनीहरू आइपुग्नुभन्दा ३ मिनेट अगाडि मात्र थाहा भएको जानकारी दिएका छन् ।
मदुरोकी पत्नीले बाहिर विमानको आवाज सुनेपछि मात्र केही हुँदैछ भन्ने शङ्का गरेकी थिइन्। अमेरिकी सेनाले रातमा देख्ने चस्मा लगाएर निकै गोप्य रूपमा यो कारवाही चलाएका थिए। यस सफल अभियानले गर्दा रुसले बनाएको सुरक्षा प्रणाली समेत असफल भएको पाइएको छ।
अमेरिकी रक्षा सचिवले आफ्ना सैनिकहरूको प्रशंसा गर्दै यो अभियान निकै सुरक्षित र सफल रहेको बताए ।
यसै बीच, भेनेजुएलाको राजनीतिमा नयाँ मोड आएको छ। मदुरो पक्राउ परेपछि त्यहाँकी उपराष्ट्रपति डेलसी रोड्रिग्वेजले अन्तरिम राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेकी छिन्। उनले सपथ ग्रहणका क्रममा मदुरोको बारेमा केही उल्लेख गरिनन्।
यता अमेरिकाले पनि भेनेजुएलासँगको सम्बन्ध सुधार्न सन् २०१९ देखि बन्द रहेको आफ्नो दूतावास पुन: खोल्ने तयारी गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार दूतावास खोल्ने तयारी भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। भेनेजुएलामा यति ठुलो हलचल भए तापनि अमेरिकाबाट त्यहाँ फिर्ता पठाइने उडानहरू भने रोकिएका छैनन्।
प्रतिक्रिया