“ग्रीनल्याण्ड बिक्रीमा छैन” – डेनमार्कका प्रधानमन्त्रीको ट्रम्पलाई कडा जवाफ

इनेप्लिज २०८२ पुष २० गते २०:४८ मा प्रकाशित

डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिक्सनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ग्रीनल्याण्ड कब्जा गर्ने “धम्की” बन्द गर्न चेतावनी दिएकी छन् । ट्रम्पले ग्रीनलैण्डलाई अमेरिकाको हिस्सा बनाउने इच्छा बारम्बार व्यक्त गरेपछि दुई देशबीच तनाव बढेको हो।

हालै ट्रम्पका एक सहयोगीकी श्रीमतीले ग्रीनल्याण्डको नक्सामा अमेरिकी झण्डा राखेर “चाँडै” भनी सामाजिक सञ्जालमा प्रकाशनगरेपछि यो विवाद चर्किएको हो। प्रधानमन्त्री फ्रेडरिक्सनले भनिन् , “अमेरिकालाई हाम्रो राज्यको कुनै पनि हिस्सा कब्जा गर्ने अधिकार छैन। ग्रीनल्याण्डका जनताले स्पष्ट भनिसकेका छन् कि उनीहरू बिक्रीमा छैनन्।”

ग्रिनल्याण्ड उत्तर ध्रुवमा अवस्थित एउटा विशाल टापु हो। यो रणनीतिक रूपमा महत्त्वपूर्ण हुनुका साथै यहाँ बहुमूल्य खनिज पदार्थहरू प्रशस्त छन्। ट्रम्पले यसलाई अमेरिकी सुरक्षा र आर्थिक हितका लागि महत्त्वपूर्ण ठानेका छन्।

प्रधानमन्त्रीले डेनमार्क र अमेरिका ऐतिहासिक रूपमा घनिष्ठ मित्र र ‘नेटो’ का सदस्य भएको सम्झना गराउँदै एकअर्काको सिमानाको सम्मान गर्न आग्रह गरेकी छन् । ग्रिनल्याण्डमा ५७,००० जनसंख्या छ। त्यहाँका मानिसहरू डेनमार्कबाट स्वतन्त्र हुन त चाहन्छन्, तर अमेरिकाको हिस्सा बन्न भने पूर्ण रूपमा विरोधी छन्।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका ल्याए पछि त्यहाँको तेल खानीमा नियन्त्रण जमाउने प्रयास गरिरहेको समयमा यो बिबाद आएको हो । यसले गर्दा डेनमार्क आफ्नै सुरक्षालाई लिएर थप सचेत बनेको छ।

प्रतिक्रिया