न्यूयोर्कमा हतकडीमा रहेका मदुरोले नयाँ बर्षको शुभकामना दिदै भने शुभरात्री

इनेप्लिज २०८२ पुष २० गते १२:०९ मा प्रकाशित

भेनेजुएलाबाट अमेरिका ल्याएका राष्ट्रपति निकोलास मदुरोले न्यूयोर्कमा हतकडीमा हुदै गर्दा उनले नयाँ बर्षको शुभकामना दिदै भने शुभरात्री समेत भन्न भ्याए ।

मदुरोको गिरफ्तारी र त्यसपछिका घटनाक्रमहरू कुनै चलचित्रको कथाभन्दा कम छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो बिहानै मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर देश बाहिर लगिएको घोषणा गरे पछि हिजै राती न्यूयोर्कको म्यानह्याटन् ल्याएको छ ।

मदुरो र उनकी पत्नीलाई राती सुतिरहेकै अवस्थामा उनीहरूको शयनकक्ष (बेडरुम) बाट घिसारेर निकालिएको थियो। अमेरिकी सेनाले यो गोप्य कारवाही निकै छिटो र सावधानीपूर्वक सम्पन्न गरेको थियो। पक्राउ गरे लगत्तै उनीहरूलाई उदग्रबिमान (हेलिकप्टर)मार्फत अमेरिकी युद्धपोत ‘यूएसएस इवो जिमा’ मा पुर्‍याइयो।

राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको एउटा तस्बिरमा मादुरो खैरो रंगको ‘नाइकी’ ट्र्याकसूट अर्थात् खेलपोशाक,आँखामा पट्टी र श्रवण उपकरण लगाएको अवस्थामा देखिए तर पछि न्यूयोर्क झारे पछि उनको वस्त्र परिवर्तन गरिएको देखियो ।

युद्धपोतबाट मदुरोलाई जहाजमार्फत न्युयोर्क लगियो। त्यहाँ उनलाई दर्जनभन्दा बढी संघीय गुप्तचरहरूले घेरेर विमानबाट ओरालेका थिए। त्यसपछि उनलाई उदग्रबिमान (हेलिकप्टर)बाट म्यानह्याटन हुँदै ब्रुकलिनको ‘मेट्रोपोलिटन डिटेन्सन सेन्टर’ अर्थात् महानगर थुनुवा केन्द्रमा पुर्‍याइयो। अहिले उनलाई त्यहीँ कडा सुरक्षाबीच राखिएको छ।

ह्वाइट हाउसले सार्वजनिक गरेको एउटा श्रब्यदृश्य (भिडियो)मा मदुरोलाई हतकडी लगाएर हिँडाइएको (पर्प वाक) देखिन्छ। कालो टाउको समेत छोप्ने वस्त्र (हुडी) र ट्राउजर(सुरुवाल) लगाएका मदुरोले त्यहाँ उपस्थित मानिसहरूलाई अंग्रेजीमा “गुड नाइट” र “ह्याप्पी न्यू इयर” (शुभ रात्री र नयाँ वर्षको शुभकामना) समेत भनेका छन्।

लागुऔषध ओसारपसार र अन्य गम्भीर आरोपमा अमेरिकाले मादुरोलाई वर्षौंदेखि खोजिरहेको थियो। अब उनले अमेरिकी अदालतमा यी मुद्दाहरूको सामना गर्नुपर्नेछ।

प्रतिक्रिया