ऐतिहासिक मोड: ‘तानाशाह समाप्त’ — भेनेजुएलामा सत्ता उल्टियो

इनेप्लिज २०८२ पुष १९ गते ११:२७ मा प्रकाशित

अमेरिकी विदेश बिभागका उच्च अधिकारीहरूले भेनेजुएलामा भएको नाटकीय घटनाक्रमपछि स्पष्ट शब्दमा भनेका छन्— “तानाशाह अब रहेन।”

अमेरिकाका उप–विदेशसचिव क्रिस्टोफर ल्यान्डाउ ले सैन्य कारबाहीपछि सामाजिक सञ्जाल एक्स(X )मा लेख्दै भने, “यो भेनेजुएलाका लागि नयाँ बिहानी हो। तानाशाह हटाइयो।” उनका प्रमुख, विदेशसचिव मार्को रुबियो ले यसअघि जुलाईमा गरिएको प्रकाशन पुनः साझा गर्दै निकोलस मादुरो भेनेजुएलाको वैध राष्ट्रपति होइनन् र उनको शासन वैध सरकार होइन भनेर दोहोर्‍याए।

युटाहका रिपब्लिकन सिनेटर माइक ली ले सामाजिक सञ्जालमा जानकारी दिँदै भने, विदेशसचिव रुबियोले आफूलाई जानकारी गराएको र मादुरो अहिले अमेरिकी हिरासतमा रहेको बताए। रुबियोका अनुसार, मादुरोलाई अमेरिकामा आपराधिक मुद्दाको सामना गर्न पक्राउ गरिएको हो र अब भेनेजुएलामा थप सैन्य कारबाहीको सम्भावना छैन।

ह्वाइट हाउसले मादुरो र उनकी पत्नीलाई कहाँ लगिँदैछ भन्ने विषयमा तत्काल प्रतिक्रिया दिएको छैन। मादुरोलाई सन् २०२० को मार्चमा न्यूयोर्कको दक्षिणी जिल्लामा ‘नार्को–आतंकवाद’ सम्बन्धी षड्यन्त्र अभियोगमा अभियुक्त बनाइएको थियो।

यस घटनाप्रति रुसले कडा आपत्ति जनाएको छ। रुसको विदेश मन्त्रालयले यसलाई अमेरिकाको “सशस्त्र आक्रमण” भन्दै निन्दा गरेको छ। रुसले भेनेजुएलालाई बाह्य, विशेषगरी सैन्य हस्तक्षेपबिनै आफ्नो भविष्य आफैं तय गर्ने अधिकार हुनुपर्ने बताएको छ। साथै, स्थिति थप बिग्रन नदिन संवादको आह्वान गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक मागलाई समर्थन गरेको छ।

यो घटनाले भेनेजुएलाको राजनीति मात्र होइन, विश्व कूटनीतिमा पनि ठूलो तरंग ल्याएको छ।

प्रतिक्रिया