
भेनेजुएलाको अवस्था झन् गम्भीर बन्दै गएपछि अमेरिकी विदेश बिभागले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई “सेल्टर इन प्लेस” अर्थात् आफू जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित लुकेर बस्न चेतावनी दिएको छ। बोगोटामा रहेको अमेरिकी दूतावासले भेनेजुएलाको राजधानीमा विष्फोटहरू भइरहेकोले कसैलाई पनि यात्रा नगर्न आग्रह गरेको छ।
अमेरिकी अधिकारीहरूले यस घटनालाई भेनेजुएलाको लागि “नयाँ बिहानी”भनेका छन्। उनीहरूका अनुसार अब राष्ट्रपति मदुरोले आफ्ना अपराधहरूको सजाय भोग्नुपर्नेछ।
अर्कोतर्फ, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मदुरो र उनकी श्रीमती कहाँ छन् भन्ने बारे आफूहरूलाई कुनै जानकारी नभएको बताएकी छन् । उनले मदुरो जीवितै रहेको प्रमाण देखाउन अमेरिकासँग माग गरेकी छन् ।
एपीका अनुसार अहिले काराकासका सडकहरूमा हतियारधारी समूह र नागरिक मिलिसियाहरू उत्रिएका छन्। शहरका केही भागमा बिजुली काटिएको छ भने मानिसहरू डरका कारण घरभित्रै बसेका छन्।
अमेरिकी सिनेटर माइक लीका अनुसार मदुरोलाई अब अमेरिकामा आपराधिक मुद्दा चलाइने तयारी भइरहेको छ। यदि मदुरो पदमा नरहे कानुन अनुसार उपराष्ट्रपति डेल्सी रोड्रिगेजले शासन सम्हाल्नुपर्ने हुन्छ, तर अहिलेको अवस्था निकै अन्यौलपूर्ण छ।
प्रतिक्रिया