ट्रम्पले दक्षिण अफ्रिकालाई अर्को जी२० शिखरमा नबोलाउने र सहयोग रकम तत्काल रोक्का गर्ने घोषणा

इनेप्लिज २०८२ मंसिर १३ गते ११:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई अर्को वर्ष आफ्नो डोराल गल्फ कोर्समा आयोजना हुने जी२० शिखर सम्मेलनमा आमन्त्रण नगर्ने र दिइँदै आएका सबै भुक्तानी र सरकारी सहयोग तत्काल रोक्का गर्ने घोषणा गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् , “यस वर्षको जी२० को समापनमा दक्षिण अफ्रिकाले अमेरिकी दूतावासका एक वरिष्ठ प्रतिनिधिलाई जी२० को अध्यक्षता हस्तान्तरण गर्न अस्वीकार गर्‍यो। त्यसैले, मेरो निर्देशनअनुसार, दक्षिण अफ्रिकाले अर्को वर्ष मायामी, फ्लोरिडामा हुने २०२६ को जी२० का लागि निम्तो पाउने छैन।”

उनले यसैमा थपे, “हामीले उनीहरूलाई दिइने सबै भुक्तानी र सरकारी सहयोग तत्काल प्रभावबाट रोक्दैछौं।”

ट्रम्पले यस वर्ष दक्षिण अफ्रिकामा भएको जी२० शिखर सम्मेलनमा अमेरिकी अधिकारीलाई पठाउन वा आफैँ सहभागी हुन अस्वीकार गरेका थिए। उनले लामो समयदेखि दक्षिण अफ्रिकामा स्वेत समुदायका मानिसहरूलाई लक्षित गरेर हत्याहरू भइरहेको दाबी गर्दै आएका छन्। यस दाबीलाई दक्षिण अफ्रिकाले आधारहीन भन्दै खारेज गर्दै आएको छ।

दक्षिण अफ्रिकाले अमेरिकी दूतावासका ‘न्यून पदका’ अधिकारीलाई जी२० अध्यक्षता हस्तान्तरण गर्नु कूटनीतिक मर्यादा विपरीत हुने भन्दै स्वीकार गरेको थिएन। यस घटनापछि दुई देशबीचको सम्बन्धमा ठूलो फाटो आएको छ।

प्रतिक्रिया