
रूस र युक्रेनबीच लगभग चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि शान्ति सम्झौता नजिकै पुगेको भन्ने चर्चालाई क्रेमलिनले खारेज गरेको छ।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै, रूसी राष्ट्रपतिका प्रेस सचिव डिमिट्री पेस्कोभले युक्रेनको अवस्था तुरुन्तै समाधानको नजिक पुगेको भन्नु अपरिपक्व हुने बताए। पेस्कोभको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा ‘ठूलो प्रगति’ भएको भन्दै उत्साह व्यक्त गरेको केही समयपछि आएको हो।
यद्यपि, क्रेमलिनकै अर्का सहयोगी यूरी उषाकोभले अमेरिकी सहयोग प्राप्त शान्ति प्रस्तावबारे केही सकारात्मक टिप्पणी गरेका छन्। उषाकोभले प्रस्तावका केही पक्षहरूलाई सकारात्मक रूपमा हेर्न सकिन्छ तर धेरै विषयहरूमा विशेषज्ञहरूबीच छलफल आवश्यक रहेको बताए ।
ट्रम्प प्रशासनले ल्याएको विवादास्पद २८-बुँदे प्रस्तावमा युक्रेनले आफ्नो सम्पूर्ण डोनेत्स्क क्षेत्र रुसलाई सुम्पनु पर्ने र नेटो गठबन्धनमा सामेल हुने प्रयास अन्त्य गर्नुपर्ने जस्ता बुँदाहरू समावेश छन्, जसलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पहिले नै अस्वीकार गरिसकेका छन्।
ट्रम्पले अमेरिकी विशेष दूत स्टीभ विट्कोफलाई यस प्रस्तावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न मस्को पठाउँदै छन्। शान्ति सम्झौताको विषयमा वासिङ्टन र कीभ (युक्रेन) पक्षबाट सकारात्मक खबर आए पनि रुसले अहिले कुनै ठूलो सहमति भएको स्वीकार गरेको छैन।
प्रतिक्रिया