
गत बिहीबार एक जना सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन, डी.सी.मा महिनौँसम्म हजारौँ राष्ट्रिय सुरक्षा सैनिकहरू तैनाथ गरेको काम गैरकानूनी भएको फैसला गरेका छन्।
सिबिएसन्यूजका अनुसार अमेरिकी जिल्ला न्यायाधीश जिया कोबले डी.सी.का महान्यायाधिवक्ता ब्रायन स्क्वाबको पक्षमा निर्णय सुनाएकी छन् । स्क्वाबले राष्ट्रपतिले आफ्नो कानुनी अधिकारको सीमा नाघेको भन्दै मुद्दा दायर गरेका थिए।
यो निर्णयले डी.सी.का नगर प्रमुख वा अधिकारीहरूको माग बिना नै राष्ट्रपतिले राष्ट्रिय सुरक्षा सैनिकलाई ‘गैर-सैन्य’अर्थात् अपराध नियन्त्रणको काममा खटाउन नमिल्ने ठहर गरेको छ। न्यायाधीश कोबले राष्ट्रपतिलाई डी.सी.को राष्ट्रिय सुरक्षा सैनिकको प्रमुख भए पनि असीमित अधिकार नभएको बताएकी छन् ।
ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले यो फैसलालाई डी.सी.का बासिन्दालाई हानि पुऱ्याउने राजनीतिक चाल भन्दै आलोचना गरेकी छन्।
तर, महान्यायाधिवक्ता स्क्वाबभने, “घरेलु कानुन कार्यान्वयनका लागि सैन्य बल प्रयोग गर्नु खतरनाक परम्परा हो।” न्यायाधीशले ट्रम्प प्रशासनलाई अपील गर्नका लागि २१ दिनको समय दिएका छन्, तर यदि अपील भएन भने फेब्रुअरी २०२६ सम्म बस्ने भनिएका सैनिकहरूलाई घर फर्कनुपर्नेछ।
प्रतिक्रिया