युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकाले ल्यायो नयाँ शान्ति योजना

इनेप्लिज २०८२ मंसिर ६ गते १०:३२ मा प्रकाशित

अमेरिकाले युक्रेन-रुस युद्ध अन्त्य गर्नका लागि नयाँ शान्ति योजना अगाडि बढाएको छ। यो योजना लिएर अमेरिकी सेनाका वरिष्ठ अधिकारीहरू यसै हप्ता किभ पुगेका छन्।

तर, अमेरिकी टोली पुग्नुभन्दा पहिले नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सरकार भ्रष्टाचार काण्डले गर्दा ठूलो संकटमा परेको छ। करिब १०० मिलियन डलरको यो भ्रष्टाचार काण्डका कारण दुई मन्त्रीहरूले राजीनामा दिनुपरेको छ । यसले सरकारको जग नै हल्लाइदिएको छ।

यो राजनीतिक संकट चलिरहेकै बेला ह्वाइट हाउसले रुससँगको समन्वयमा एउटा २८ बुँदे नयाँ शान्ति योजना युक्रेनलाई दिएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार, यस योजनाका सर्तहरूले युक्रेनलाई ‘आत्मसमर्पण’ गर्न बाध्य पार्छन्। योजनामा युक्रेनले आफ्नो सेनालाई आधाभन्दा बढी घटाउनुपर्ने, रुसले कब्जा गरेको सबै क्षेत्र रुसकै हुने र लामो दूरीका हतियारहरू राख्न नपाउने जस्ता शर्तहरू छन्।

एबिसीन्यूजका अनुसार जेलेन्स्कीले शान्ति चाहिएको बताए पनि यो योजनामा हस्ताक्षर गर्नुपर्ने दबाब बढेको छ। धेरैले राष्ट्रपति कमजोर भएको मौकामा अमेरिकाले यस्ता कडा सर्तहरू थोपर्न खोजेको आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया