
भर्जिनिया, अमेरिका। अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कवि, साहित्यकार तथा समाजसेवी प्रेम सङ्ग्रौलाको बहुप्रतिक्षित नवीनतम कविता सङ्ग्रह ‘पासपोर्ट’*को थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा एक भव्य समारोह बीच विमोचन सम्पन्न भएको छ।
अमेरिकामा रहेका नेपाली साहित्यप्रेमीहरूको बाक्लो उपस्थितिमा भएको यो कार्यक्रम बौद्धिक गहिराइ र भावनात्मक प्रस्तुतिले भरिपूर्ण रह्यो।

कार्यक्रममा मेरील्याण्डका महावाणिज्यदूत प्रेम राजा महत,नेपालका चर्चित गायकद्वय सत्यस्वरुप आचार्य लगायत बिशेष अतिथिहरूले सामूहिक रूपमा पुस्तकको विमोचन गरे।
पुस्तकको सफलता र सङ्ग्रौलाको साहित्यिक यात्राको निरन्तरताका लागि सबैले शुभकामना व्यक्त गरेका थिए।
विमोचनपछि स्वयं कवि सङ्ग्रौलाले आफ्ना कविताहरूमध्ये गाउँमा बुढाआमा बुवालाई सोधे देशको खबर’ लगायतका शीर्षकहरू वाचन गरेर दर्शकहरूको मन छोए।

नेपालबाट आएका लोकप्रिय गायक सत्य राज आचार्यले प्रेम सङ्ग्रौला र मञ्जु सङ्ग्रौलाले प्रवासमा आफूहरूलाई दिएको माया र हौसलाको प्रशंसा गरे। गायक आचार्यले सङ्ग्रौलाको एउटा शिर्षकविहीन कविता वाचन गरेर अन्त्यमा मात्र त्यसको शीर्षक ‘बर्षौंवर्षदेखि… हजुरको स्वागतमा जीवन ओछ्याएर’ खुलाउँदा माहोल निकै रोमाञ्चक बनेको थियो।
स्थानीय गायक श्याम सुन्दरले ‘तिम्रो सन्तान घर सम्झी रुन्छ’ कविता वाचन गरे भने गायक खेम सङ्ग्रौलाले आफ्नो लोकप्रिय गीत ‘हे दिदी मैले —मेरी मुना’ गाएर कार्यक्रमलाई सङ्गीतमय बनाए।

पुस्तकमाथि टिप्पणी गर्दै समालोचकहरू गोपाल रेग्मी, सुदीप भद्र खनाल र डा. हरिराज भट्टराईले सङ्ग्रौलाका कविताहरूको गहन समीक्षा गरे। कवि गोपाल रेग्मीले सङ्ग्रौलाका कवितामा ‘बौद्धिक गहिराइ छचल्किएको’बताउँदै ती कविताहरूले ‘अर्थशास्त्रको तथ्य र भावनाको अनुभूति दुवैसँग संवाद’ गर्ने उल्लेख गरे।
अर्का कवि सुदीप भद्र खनालले कवितालाई विद्रोहको संज्ञा दिँदै ‘कविताले गाली गर्दैन तर गाली पचाउन ठूलो मुटु चाहिन्छ’ भन्ने टिप्पणीका साथ ‘च्याति दिन्छु रकमी मिसिलका पाना’ कविता वाचन गरे।

वरिष्ठ कवि बसन्त श्रेष्ठले सङ्ग्रौला एक ‘सामाजिक अभियन्ता’ समेत भएको बताउँदै उनका कवितामा इमान्दारिता, माया, प्रेम र असमानता जस्ता विषयको सुन्दर अभिव्यक्ति भेटिने धारणा राखे।
कार्यक्रमको सबैभन्दा रोचक पक्ष भनेको कवि सङ्ग्रौलाको परिवारको सक्रिय सहभागिता थियो। कविकी श्रीमती मञ्जु सङ्ग्रौलाले सबैलाई स्वागत गर्दै पुस्तकबारे संक्षिप्त धारणा राखिन्।

भर्जिनिया बाहिर रहेकी विवाहित छोरीले सन्देश पठाउँदै कविता वाचन गरिन् भने अमेरिकी ज्वाइँले समेत नेपाली कविता वाचन गर्दा सभाकक्षमा उपस्थित दर्शक मौन रहे र प्रशंसा गरे । कान्छी छोरीले पनि कविका कविता सुनाएकी थिइन्।सहदेव पौडेलले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा पौडेलले पनि कविता वाचन गरे ।

नेपाली दुताबासका रक्षा तथा सैनिक सहचारी पूर्णप्रसाद ढकालले पनि शुभकामना सहित कविको चर्चा गरे । प्रेम सङ्ग्रौलाले आफ्नै कविता वाचन गर्दै विमोचन समारोहको औपचारिक समापन भएको घोषणा गरे।


ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया