
´सुश्री पारिजात` पारिजातको जीवनी कथा हो। सुश्री पारिजात : जीवनी कथाका लेखक गोविन्द गिरी प्रेरणा हुन् । यसको प्रकाशन फाइन प्रिन्टबाट २०७९ मा भएको पाइन्छ ।
पारिजातको जीवनी कथाका लेखकले पुस्तक प्रकाशनको श्रेय अफ्रिकी मूलकी अमेरिकी नृवंशशास्त्री तथा पारिजातकी मित्र बार्बरा निम्री अजिजलाई दिएका छन् । सामाग्री सङ्कलन, अध्ययन र अनुसन्धानमा रमाइरहेका लेखकलाई उनले डेट लाइन तोकेर पुस्तक प्रकाशन गर्न घच्घच्याएकी थिइन् ।
´सुश्री पारिजात` ३८६+४० पृष्टको स्थुल आकारको कृति हो। यसको भौतिक मूल्य ८७५ तोकिएको छ ।
यसको प्रकाशकीयमा भनिएको छ, ´… आजीवन लेखनको क्षेत्रमै समय विताएकी पारिजातले उपन्यास, कथा, कविता र वेजोड आत्मसंस्मरणमार्फत पाठकलाई आकर्षित गरिरहिन् । नियमित स्तम्भ लेखनका माध्यमबाट पाठकक- शुभेच्छुकसँग संवाद पनि गरिरहिन् ।
यस अघि आधिकारिक जन्म मिति सहित पारिजात माथि यति विस्तृत जीवनी सायदै प्रकाशन भएको थियाो।`
पुस्तकमा निम्न १३ खण्ड छन् र तिनमा जम्मा १०१ मध्ये ९७ शीर्षकमा जीवनी कथाका पाठहरु छन् । बाँकी ४ शीर्षकमा १.सन्दर्भ सूचि, २. लेखकबाट आभार ज्ञापन, ३. अनुक्रमाणिका र ४. पारिजातका तस्वीरहरु रहेका छन् । अन्तिम पृष्टमा पारिजातको हस्ताक्षरको तस्वीर पनि समेटिएको पाइन्छ ।
हरेक खण्डको पाठ संख्या कोष्ठकमा दिइएको छ ।
१. छेकुडोल्मादेखि विष्णुकुमारी वाइबा (१०)
२. काठमाडौंका सुरूवाती दिन (७)
३. जीवन सङ्घर्ष र पराश्रयबाट स्वआश्रयतिर (९)
४. राल्फा युग र पारिजात (८)
५. कथायात्रा (४)
६. आरोप (४)
७. प्रगतिवादी लेखन (५)
८. पारिजात र राजनिति (६)
९. सम्पादन, अनुवाद र स्तम्भलेखन (४)
१०. आनीबानी (१६)
११. पारिजातकाे साहित्यिक दृष्टि (९)
१२. विविध संलग्नता (९)
१३. चिर निन्द्रामा (१०)
पारिजातको जन्म दार्जिलिङको प्रख्यात लिङ्गिया चियावगानमा काम गर्ने डा कालुसिंह तमाङकी कान्छी श्रीमती अमृत मोक्तानको कोखबाट १९९० फागुन ३० तदनुसार १३ मार्च १९३४ मा भएको थियो । लामाले जुराएको उनको नाम छेमुडोल्मा थियो, तर घरमा बोलाउने नाम भने विष्णु थियो । स्कूलमा र औपचारिक नामकरणमा उनको नाम विष्णुकुमारी वाइबा भयो । काठमाण्डौ आए पछि लेखनको क्रममा उनले आफ्नो नाम पारिजात राखेकी हुन् ।
उनको दु:खद निधन २०५० बैशाख ५ गते विहान ४ बजे काठमाण्डौमा भएको थियो।
´सुश्री पारिजात` उनको जीवनीकथा भएकोले उनको जीवन यात्रा र लेखन यात्राका सम्पूर्ण घटनाहरु यस कृतिमा समेटिएको पाइन्छ । यो जीवनी कथा सरल भाषामा लेखिएको छ ।
लेखकले यो कृति तयार गर्नका लागि खोज अनुसन्धानमा धेरै समय खर्च गरेका छन् ।
पारिजाताले मदन पुरस्कार प्राप्त गरेको कृति ´शिरिषको फूललेख्नु अघि तीन उपन्यास लेखेकी र तिनलाई डढाएर आगो तापेकी, प्रेममा आफूले धोका दिएको र आफूले पनि धोका पाएको, चरम विपन्नताले सताइएको, शिरिषको फूललाई पछि आफैँले अस्वीकार गरेको, विभिन्न साहित्यकारहरुसँग पारिजातको अन्तरङ्ग सम्बन्ध र सहकार्य, उनका रचनाहरुको रचनागर्भ, उनको राजनीतिक सकृयता, बन्दी सहायता नियोग र मानव अधिकारका क्षेत्रमा उनका गतिविधि अनि चुरोट, रक्सी, प्रेम र यौनका कुरा जस्ता अनेक रोचक प्रसङ्गहरु ´सुश्री पारिजातमा समेटिएको पाइन्छ ।

पारिजातको जीवनीकथाका कथाकार गोविन्द गिरी प्रेरणा पेशाले लेखा परीक्षक र विमा व्यवसायी हुन् । उनले आफू बाणिज्य शास्त्रको विद्यार्थी भएको र औपचारिक रुपमा नेपाली भाषा र साहित्यको शिक्षा लिने अवसर नपाएको पुस्तकमा खुलाएका छन् । हालसम्म उनका साहित्यका विभिन्न विधामा गरेर २६ कृति प्रकाशित भएका छन् । उनले केही कृतिको सम्पादन र अनुवाद पनि गरेका छन् । उनका केही कृति विभिन्न भाषामा पनि अनुवाद भएका छन् । उनले नारायणी वाङ्मय पुरस्कार, युवा वर्ष मोति पुरस्कार, मैनाली कथा पुरस्कार, वासु शशी स्मृति साहित्य पुरस्कार लगायत पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
जीवनीपरक फुट्कर रचना लेख्दै आएका गिरीको पूर्ण जीवनी पुस्तक भने ´सुश्री पारिजात` पहिलो कृति हो ।
अन्त्यमा पारिजातको उपन्यास ´परिभाषित आँखाहरु`को भूमिकामा समेटिएको यस पङ्क्तिकारको सानो कवितांश –
“अब मात्र एउटै सङ्कल्प
इतिहास त दुख्यो दुख्यो
वर्तमान पनि जति दुख्छ दुखोस्
भविष्य एउटै नदुखे हुन्थ्यो
यो फेरि नदोहोरिए हुन्थ्याो”
´ कविताले मलाई कताकता छोयो । तर मेरो चाहना यति मात्र होइन । मेरो चाहना छ, वर्तमानलाई पनि यतिबिघ्न दुख्न नदिऊँ ।`- पारिजात ।
प्रतिक्रिया