टेक्ससमा चर्चित लेखिका सीता पाण्डेको अनुवादित कृति साइलेन्ट भ्वाइस माथि गहन चर्चा–परिचर्चा

इनेप्लिज २०८२ असोज ८ गते ०:०७ मा प्रकाशित

सेप्टेम्बर २२, २०२५ | युलेस, टेक्सासस्रष्टा साँझ अमेरिकाको आयोजनामा युलेस सहरमा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो, जहाँ चर्चित लेखिका सीता पाण्डेको अनुवादित कृति साइलेन्ट भ्वाइस अर्थात् Silent Voice माथि गहन चर्चा–परिचर्चा गरियो। मूलतः नेपालीमा लेखिएको “यौन र अनुभूति” लाई दिवंगत प्रा. डा. तारानाथ शर्माले अंग्रेजीमा अनुवाद गर्नुभएको हो।

कार्यक्रमको सञ्चालन स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रा. प्रभात दीक्षितले गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा उनले यौन र मानव सम्बन्धमा आधारित कृतिहरू विश्वमै सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्ने भए पनि, यस विषयलाई खुला रुपमा छलफल गर्न अझै सजिलो नभएको बताए। उनले जोड दिँदै भने: “सीता पाण्डे नेपाली साहित्यकी सबैभन्दा साहसी महिला स्वरहरू मध्ये एक हुन्। उनले सधै पितृसत्तात्मक समाजले धार्मिक र सामाजिक आधारमा महिलामाथि थोपरेको यौनिक तथा अन्य दबाबलाई निडर ढंगले प्रश्न गर्छिन्, चुनौती दिन्छिन् र अनावरण गर्छिन्। उनको लेखन कठोर इमानदारी र स्पष्टताले भरिएको छ—जहाँ उनी मौनता र अदृश्य सामाजिक नियमहरूको पर्दा चिर्छिन्, जसले पुरुषहरूलाई बिना दण्ड सीमा नाघ्न सहज बनाउँछ।”

दीक्षितले “यौन र अनुभूति” जस्तो कृति लेखेर सामाजिक बहसलाई झक्झक्याउने योगदानका लागि पाण्डेलाई विशेष धन्यवाद दिनुपर्नेमा पनि जोड दिए। कार्यक्रममा राधाकृष्ण काफ्ले, एलिजाबेथ ग्रे, संजय घिमिरे, विनोद रिजाल र प्रा. डा. शिलु भिमिरेले पुस्तकका विविध आयाममाथि विचार प्रस्तुत गरे।

राधाकृष्ण काफ्लेले खेलकुद पत्रकारिता देखि साहित्यको विभिन्न विधामा सीता पाण्डेको बहुआयामिक योगदानको चर्चा गर्दै, अमेरिका बसाइ पछी उनको निर्भीक लेखनमा कमी आएको देखिएकोले त्यसलाई निरन्तरता दिन आग्रह गरे।

अमेरिकी नागरिक एलिजाबेथ ग्रेले नेपाल भ्रमणका क्रममा नेपाली पुरुष–महिलाले यौनसम्बन्धी आफ्ना व्यक्तिगत समस्याहरू आफूलाई खुलेर सुनाएको खुलासा गर्दै, नेपालमा यौन शोषणको भयावह अवस्था रहेको धारणा व्यक्त गरिन्। त्यसो त अमेरिकी समाजमा पनि यो समस्या बिकराल भएको उल्लेख गरिन l उनले यस विषयमा नेपाली समाजभित्र खुला छलफल अपरिहार्य भएकोमा जोड दिइन्।

संजय घिमिरे र विनोद रिजालले नेपाली समाजमा यौनबारे दुई–तीन तहको “मुखुण्डो” (ढोंग) रहेको उल्लेख गर्दै, विकृत धार्मिक–सामाजिक सोचलाई परिमार्जन गर्न तथा परिवारदेखि समाजसम्म खुला बहसको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रा. डा. शिलु भिमिरेले आफू अमेरिकामा पढाउँदा पनि विद्यार्थीहरू यस विषयमा सहज नभएको अनुभव साझा गर्दै, यस्ता छलफलले समाजमा बहस सुरु गर्ने “कोशेढुंगा” बन्न सक्ने विश्वास व्यक्त गरिन्।

त्यस्तै, वरिष्ठ पत्रकार हरिहर विरही र अनेसास डालसका अध्यक्ष निर्मल राईले यस्ता कृतिहरू निरन्तर आउने आशा व्यक्त गर्दै, यस्ता साहित्यिक बहसलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

अन्त्यमा लेखिका सीता पाण्डेले यौन प्रत्येक प्राणीको अपरिहार्य आवश्यकता भएको र यसबारे सचेतना बढाएर सहि दिशामा लैजानु पर्नेमा जोड दिइन्। साथै, नेपाली समाजमा विभिन्न कालखण्डमा यौनप्रतिको निषेधात्मक सोचको झलक पनि प्रस्तुत गरिन्।

स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको यो कार्यक्रम दुई घणाभन्दा बढी समयसम्म चलेको थियो। अन्त्यमा उपस्थितहरुले यस्ता साहित्यिक पहललाई निरन्तरता दिन स्रष्टा साँझ अमेरिकालाई अनुरोध गरे l

प्रतिक्रिया