मृत्यु उत्सव 

इनेप्लिज २०८२ भदौ ३१ गते २३:१८ मा प्रकाशित

कथा

शान्त/सुललीत अनि सौम्य बगिरहेकी वाग्मती नदी, जसको किनारामा मृत शरीर जलाएर खाक पारिन्छ । अस्तित्व समाप्त पारिन्छ । अघिल्लो दिनको वर्षादको पिटाइले धमिलो भएकी वाग्मतीको पानीलाई पेटीमा बसेर खुट्टाले खेलाउदै थिई ऊ/ पुरानो भएर मक्किने अवस्थामा पुगेको सलले झुम्लुङ्ग टाउको ढाकेकी ।

म ऊसँ टगै गएर बसेँ । मेरो पदचापलाई अनुभव गर्दै एकपटक गर्दन घुमाएर हेरी उसले । राईलिम्बुको जातित्व झल्कने साना आखा, थेप्चो नाक, गहुगोरी उसले गलामा काला गुच्चा झैं माला लगाएकी थिई । उसको अनुहार नियाली रहँदा उसले आङ्खनो घाँटी कछुवाले झैं मोडेर पारी बर्मानाल तिर हुत्याईसकेकी थिई ।

पिताम्बरको पहेलो कपडाले लपेटेर एउटा मृत शरीरलाई सुताइएको थियो बर्मानालमा । कालो फरिया माथि सेतो ढाकाको खास्टो ओढेका महिलाहरू ह्वा…..ह्वा रुँदै वाग्मतीको जल पिलाउदै थिए मृत शरीरको मुखमा । एउटी अठार/उन्नाइस वर्षकी तरुनी, कालो ट्राउजर माथि उसैगरी सेतो ढाकाको सलले बेरिएकी, ऊ भने मरिहत्ये गरी रुँदै लडौंला लडौंला जस्तो अवस्थामा “मेरो बाबा, मेरो बाबा” भन्दै खुब जोडले चिच्याउँदै रुँदै थिई निरन्तर ।

नयाँ वर्षको पहिलो दिन पशुपती क्षेत्र ढपक्कै ढाकेका मान्छेले, वारी-पारीबाट तिनै दृश्यलाई चलचित्रको सुटिङ मानेर हेर्दै थिए । तर त्यो अभिनय नभएर वास्तविकता थियो, कसैको जीवनमा घटेको । कसैले भोग्दै गरेको ।

ज्यादै नरमाइलो/नमिठो डकार हुर्लुक्क आयो मेरो घाँटीमा । एकपटक आँखा मोडेर आफूलाई सम्हाल्ने प्रयत्न गरेँमैले । ऊ त्यही पारी पट्टिको दृश्य हेर्दै थिई आँखाका ढकनी खुल्ला राखेर । म उसलाई बोलाउन चाहन्थें तर शब्द उच्चारण नभै घुम्दै थियो मुख भित्रको गुफामा ।

डोरीमा केही बाँधेर नदीमा हुत्याई फेरी त्यसलाई आफूतिर तान्दै थियो एउटा बाह्र/तेह्र वर्षको केटो । डोरी फ्याक्दै केटो हामी छेउँ आयो ।

“माछा मारेको हो भाइ ?” सिगानले अकरक्क परेको हातको बाहुलाले फेरि नाकलाई पुछेर ढाडे बिरालो झैं ठूला ठूला आँखा पर्लक्क म भए तिर पल्टायो, जवाफ दिएन । डोरीमा बाँधेको डल्लो हातमा उठाएर टल्कने वस्तु टिपेर ठाउँठाउँमा परेवाको आँखा जस्तो प्वाल परेको पाइन्टको खल्तीमा राख्यो ।

“हैन के राख्यो यो बजियाले ? नदीमा सुन पाइन्छ भन्थे हो कि क्या हो ?” – मैले कानमा फुसफुसाएँ ।

चिम्रा आँखाका ढकनी उचालेर गर्धन बटारी मतिर फर्केर हेर्दै बोली ऊ –“पायो यो वाग्मतीमा सुन । पैसा होला नि !”

मैले त्यति पनि बुझ्न नसकी मुर्ख भएकामा हाँसो उठ्यो, आफै प्रति ।

“अनि त्यो डोरीमा बाँधिएको डल्लो ?” प्रश्नले उसलाइै घोंच्दै पारीतर्फ नै नियालें मैले पनि ।

कलेटी परेको नीलो ओठलाई थुकले भिजाउँदै बोली –“चुम्बक होला नि ! पैसा अरु केमा टांसिन्छ र ?”

हो त म पनि गोबरल्वाँठ नै रै’छु, मन मनै फिस्स हासें।

पारी सतलको पेटीमा बसेर त्यो तरुनी अझै रुंदै थिई पशुपति क्षेत्र थर्काउँदै ।

“जे नहुनु त भै सक्यो, रुँदैमा मरेको फर्कन्छ र ?” –सुस्तरी आफैंमा गुन्गुनाएँ ।

“भनेर चित्त कहाँ बुझ्छ र ? जसले भोग्छ उसलाई थाहा हुन्छ, आफन्तको मृत्युमा कति जल्छ ह्दय ?” – लामो सास तान्दै आकाश तिर फर्की अनि आङ तन्काई ।

यसपटक म चुप लागें । पहिलाको पिताम्बरले लपेटेको मान्छेलाई निकालेर अर्को मान्छे सुताए ब्रमानालमा । एउटी अधवैशे पचास पचपन्न वर्षकी आइमाई खुट्टै फालेर रुँदै थिई, जमिनमा पसारिएर । दुईजनाले झ्याइकुटी पारी उचाल्दै जल चढाउन लगाए, उचाल्दा पहेंलो बुट्टा भएको सुतीको धोती लतारिएको थियो जमिनमा । अर्की आइमाई सतलबाट कुद्दै आई, लत्रेको धोती समाती पछि लागी । तीनचार जना मिलेर बल्ल बल्ल त्यो आइमाईको हातबाट जल चढाइदिन सफल भए मृत मान्छेको मुखमा ।

“के तिमीले यस्तो परिवेशको कहिल्यै सामना गरेकी छौ ?” – म छेउमै झुकेर उसले सोधी । ऊ नजिकै झुक्दा उसको मुखबाट नमीठो गन्ध ह्वास्स आयो, मेरो नाकैमा । त्यो गन्धले झण्डै सास नरोकिएको, मलाई त्यो प्रश्न सोधिरहँदा पातलो बेढङ्गको आँखी भौं हल्का उचालिएको थियो उसको ।

“किन मैले यी परिवेशसँग सामना गरेकी छैन जस्तो लाग्छ तिमीलाई ?” –भुईमा लत्रिएको सल टिपेर टाउकोमा राख्दै सोधें मैले ।

“नाई । हेर्दा त त्यस्तो लाग्दैन ।”

एकछिन सुनसान भयो वातावरण । सुनसान भन्नाले हामी मौन बस्यौं । पारीतर्फ मान्छे पोल्दा आएको गन्धले सास फेर्न मुस्किल भैरहेको थियो । तरुनी केटी र आइमाई अझै रुदै थिए । हेर्दा हेर्दै तीन चारवटा लासहरू थपिए । आखिर घाट न पर्यो ।

“हैन नयाँ वर्षको दिन पनि कति मान्छे मरेका होलान् ।” अल्छिलाग्दो पाराले म फतफताएँ।

“हो नि नयाँवर्ष, दशैं, तिहार भनेर कालले छोड्छ नि मान्छेलाई ।” –अलिकति रुखो पारामा उसले जवाफ हुत्याई म तिर ।

“तिमी यहाँ के गर्न आ’को ?’ –अप्रत्यासित मुखबाट प्रश्नको झटारो हुत्तियो ऊसम्म ।

म तिर टाउको घुमाई, घाँटिका नसा तनक्क तन्कने गरी घुटुक्क थुक निली अनि वाग्मतीलाई नियाल्दै बोली – “नयाँ वर्ष मनाउन ।”

उसको यो पारा मलाई मन पर्यो अनि हाँसो लाग्यो पनि ।

“ओहो ! नयाँ वर्ष यसरी ? नदी तर्फ झोक्राउँदै अनि लास पोलेको गन्ध सुँघ्दै मनाउँछन् । मलाई थाहै थिएन ।” – नपत्याउँदो शैलीमा बोलें म ।

“किन तिमीलाई विश्वास लागेन ? ऊ हेर (पुलमाथि लाम लागेर उभिएका मान्छेहरू तिर देखाउँदै) उनीहरू पनि त नयाँ वर्ष मनाउन आएका हुन् ।”– यति भनेर ठुसठुस्ती परी ऊ । उसको मुहारको भाव निराशामा परिणत भो ।

“एक्लै आएकी ?” – फेरि लगाम लगाउन खोज्दा खोज्दै बतासियो शब्द ।

“नाइ“, छोरी र बहिनी पनि आ’का छन् ।”

“अनि खै त उनीहरू ?”

“लाम बसेका होलान् पशुपतीनाथको पूजा गर्न ।”

“तिमी लाममा नबसेर किन यहाँ त ?”

“उस, ढुङ्गालाई पूजा गरेर थाकिसकें म, उनीहरूको पनि भम्र छुट्छ एकदिन मेरो झैं अनि भगवान् प्रति आस्था हैन घृणा पलाएर, आस्तिक सबै नास्तिक बन्छन् ।” – नजानिंदो पाराले उसको शरीर छटपटायो मानौं दर्जनौं बारुलाले चिलिरहेको छ । अनुहारमा घृणाको भाव सल्बलायो, अलिकति जिब्रो निकाली र माथिल्लो ओठ भिजाई ।

“यति बिघ्न असन्तुष्टि भगवान् प्रति ।” म बिस्तारै बोलें बाग्मतीको पानीलेसम्म पनि नसुन्ने गरी ।

फरक्क टाउको मतिर बढाउँदै आक्रामक शैलीमा उसले भनी – “तिमी के गर्न आएकी ? शायद नयाँ वर्ष मनाउनै आएकी हौली ।”

“हैन, मैले नयाँ वर्ष, चाडपर्व नमनाएको पन्ध्र वर्ष भो ।” –निरसिलो जवाफ दिएँ ।

“किन ?” – उत्तेजित हुँदै र मुसाको झैं आँखा चलाख बनाउँदै सोधी ।

“जहिलेदेखि आमाले मलाई टुहुरो बनाएर गइन् तब देखि मैले चाडपर्व मनाएकी छैन ।”– आँसु तप्कदो भावमा बोलें मैले ।

“ओ ! सरी, अनि आज यहाँ?”

“आज बुवाको तिथी श्राद्ध गर्न आएको । (पर कपाल खौरेर पिण्ड हातमा उचालेको सेतो धोती पाटा फेरेको मान्छे तिर देखाउँदै) उनी मेरो श्रीमान्, बाबाको श्राद्ध गर्दै छन्, सँगै उभिएकी नीलो साडी लगाएकी मेरी दिदी हो ।” –म लगातार बोलिरहँदा ऊ चाख मानेर सुनी रही ।

“तिम्रा दाजु भाइ छैनन् ?”

“अह“ छैनन् ।”

“कति भो बुवा बितेको ?”

“तीन वर्ष, ऊ त्यही“ (पारी पट्टीको मान्छे पोल्दै गरेको चिता देखाउँदै) हो, मेरा यिनै हातले दागबत्ती दिएर बुवाको पार्थीव शरीर माथि आगो झोसेकी ।” – म स्तव्ध भएँ। मेरो गला कसैले दवाइ दिए झैं लाग्यो ।

“संसारको यही त नमीठो नियम छ ।” – उसले आफ्नो दाहिने हात मेरो काँधमा राखेर थम्थमाई । लामो सास फोक्सै देखि तानी र घुटुक्क थुक निली, जब कि थुक निलेको आवाज मेरो कानको जालीसम्म आइपुगे ।

“बज्रको लाठी कतिखेर कसको शीरमा बज्रन्छ पत्तै हुँदैन । हेर न (पारीपट्टी लास उचालेर ब्रमानालमा सुताउँदै गरेको मृत शरीरलाई देखाउँदै) आज उनीहरूलाई परेको छ, अघि चिच्याउँदै गरेकी केटीले सोंच्दै होली – ‘मलाई जस्तो कसैलाई परेको छैन ।’ त्यो उसका गलत सोचाई हो । कुमालेको चक्र झैं घुम्दै एकपटक नियतीको बज्र सबैले भोग्नै पर्छ ।” – ऊ धारा प्रवाह बोली रही, म सुनिरहें ।

“तिमीलाई थाहा छ ?” –उसले मतिर फर्केर प्रश्नात्मक आँखाले नियाली ।

“के कुरा ?” – जिज्ञासु पाराले सोधें मैले ।

“यही कि म यहाँ किन आएकी छु, तिमीलाई अनौठो लाग्ला । प्रत्येक दिन बिहान म यहाँ आउँछु । यो नदीको पानीमा नियाल्छु, कसैको छायाँ देखिन्छ कि भनेर ।”– बोल्दा बोल्दै ऊ भावुक बन्छे ।

“कसको छायाँ ?” छोटो जवाफ बर्साउँछु उसमाथि ।

“राजिवको ।”

“को राजिव ?”– अप्रत्यासित पोखिन्छ जिज्ञासा वातावरणको सतहमा ।

“मेरो छोरो, तिमीले झैं मैले पनि यही नदी, यही मन्दिर, यिनै पाटी पौवा, सतल, यहाँ उफ्रेका बाँदरहरूलाई खुलेयाम देखाउँदै बुढेसकालको बैशाखी, मुटुको टुक्रा छोरालाई दागबत्ती दिएँ । (आफ्नै हात हेर्दै) यिनै पापी हातहरूले लाउँ–लाउँ खाउँ-खाउँ उमेरको मेरो लक्का जवान छोरालाई आगो सल्काएँ । म संसारकी त्यो आमा हो, जसले आफ्नो दाहसंस्कार गर्ने छोराको उल्टै दाह संस्कार गरेँ ।” – ऊ घुक्क–घुक्क रुन थाली, सलले मुख छोपेर ।

के भन्ने भन्ने, म दोधारमा परेँ । शब्दमा खडेरी पर्यो । मेरो ह्दयको फाँट यसरी सुक्यो मानौं चैतको लामो खडेरीको बज्र परेको छ ।

“समाल आफूलाई, आँसु झार्दैमा गएकाहरू फर्कदैनन् । देखेनौ अघिको केटी विचरी कति घात गर्दै थिई तैपनि मरेको उसको बाउ त ब्युँझेन नि ।” –उसको देब्र्रे हातमा बेस्सरी अँठ्याउँदै सम्झाए“ मैले ।

“कति भो ऊ बितेको ?”

“पाँच महिना ।”

“कसरी बित्यो ऊ, कालगतिले कि अन्यकारण ?”

मेरो सोधाइले एकछिन टोलाई, बगिरहेको बाग्मतीलाई हेर्दै । म माथिबाट कसैले नदीमा केही फाल्यो झ्वाम्म । एक जत्था बाँदर हानथाप गर्दै नदीमा पसे । त्यो खानेकुरा हो कि भनेर खोज्न । एउटा बाँदरले भेट्यो भागिहाल्यो । च्याँ…. च्याँ “….गर्दै अरु पनि उसैको पछि दगुरे । अलि अलि सम्याइएको कपाल बेस्सरी दाहिने हातका औंलाले कन्याउँदै, पिचिक्क थुक्न घोप्टिई टाउको झुकाएर । तर उसको मुखबाट थुक निस्केन । तब सुख्खा भएको जिब्रोले ओठ भिजाई ।

“मेरो छोरा यहाँ मरेको होइन ।”

“अनि कहाँ त ?” – म फेरि जिज्ञासाको बहकावमा हेलिएँ ।

“साउदीमा । तिमी मान वा नमान मैले मेरो छोरालाई मारे, गुमाएँ त्यसैको पश्चातापले ह्दय जलेर अंगार भएको छ ।”

“तिमी अफूलाई दोषी किन ठान्छ्यौ ? ‘हुनेहार दैव नटार’ भन्ने त उखानै छ, मृत्यु भन्ने शासत्व सत्य जहाँ जुन अवस्थामा रहे पनि प्राणीलाई पराजित गराइहाल्छ । यसमा कसैको कुनै जोर चल्दैन ।”

“नाइ तिम्रो कुरा म मान्दिन । नीजि अफिसको गाडी चलाएर दशहजार कमाउँथ्यो महिनाको नेपालमै । भाइ बहिनीको पढाइ खर्च र घर चलेकै थियो राम्रोसँग । म माथि धनको लालसाले डेरा जमायो, अरुका छोरा विदेश गएर पैसा कमाई घरघडेरी जोडेको देख्दा म जल्थें, निसासिन्थें, लोभिन्थें भित्रभित्रै । ‘तिमीलाई छाडेर पराइ ठाउँमा जान्न आमा’ पटक–पटक भन्दा पनि उक्साएँ। प्रलोभन देखाएर जान बाध्य बनाएँ। ऊ फेरि भावनामा पग्लेर अनियन्त्रित बनी । ऊ भित्रको वेदना नदी झैं बगेको देखेँ-नसा नसामा ।

“त्यो तिम्रो मनको डर हो । तिम्रो कमजोर बुझाइ हो । वास्तवमा तिम्रो छोराले त्यही छोटो अवधिको मानो लिएर आएको रै’छ, चित्त बुझाउनु पर्छ ।” म उसको कुरामा थुम्थुम्याउँछु । ऊ सलले आँखा पुछेर ओभानो बनाउने प्रयास गर्छे । तर उसका आँखा सिमसार बनिदिन्छ ।

“कति दिन पछि थाहा पायौ ?”

“भाइ बहिनीले थाहा पाएर पनि मलाई भनेनन् । कुरा लुकाए । मरेको एक महिना पछि ।”– पहेंला दाँतले कलेटी परेको ओठ टोकी अनि आफूलाई सम्हाल्ने प्रयत्न गरी ।

“कसरी मरेको रै’छ थाहा पायौ ?” –मन नहुदा नहुदै पनि प्रश्न फुत्कियो गोली झैं उसैलाई छेड्न । थाहा थियो ऊ यो घडीमा संकटबाट गुज्रिदै छे भन्ने तै पनि कौतुहतलामा दबिन सकिन म ।

“खै आफूले देखेको होइन । आफू गएको छैन त्यो मुर्दो साउदीमा । कस्तो सैतानी ठाउँ रहेछ मेरो छोरालाई निल्न आँ गरी मुख बाएर बसेको । शुरुमा साथी चैंको फुन आ’को थ्यो रे । आफैले चलाएको गाडीले पार्किङ्ग गरेर राखेको ठाउँमा ब्याक आएर किच्यो भन्थ्यो रे…..।” ऊ चुप लागी । मेरो मन पनि चिमोटियो उसको पीडामा । छाती भित्र गहिरो दुखाईले डस्यो र म पनि उस“गै चलमलाएँ, छटपटाएँ ।

“अनि लास कति दिनमा आयो त नेपाल ?”

“डेढ महिना पछि त्यो पनि मेरी बहिनीको साथीले परराष्ट्र मन्त्रालयबाट सिधै शाउदीमा रहेको नेपाली दुतावासमा सोर्स लाएर आएको । नत्र छ सात महिना पनि लाग्थ्यो रे । सबै यसै भन्थे ।”

“त्यो त पक्कै हो, कतिको त लास नआएको पनि छ, खोजतलास गर्ने मान्छे नभए लास नेपाल पठाउँदा खर्च लाग्छ भनेर कम्पनीले लास गायब बनाइदिन्छ रे ।” –आफूले सुनेको कुरामा स्पष्टिकरण दिएँ मैले ।

“के गाडीले नै किचेर मारेको रै’छ त ?”

“का“ हुनु नि, दायाँ पुर्पुरो देखि पछिल्लो कानको भित्तासम्म खुकुरीको गहिरो चोट थियो, गाडीले पेलेको त नाम निशाना थिएन शरीरमा ।” –अनुहार फुक्क बनाई, फेरि नाकका फोरा जुरुक जुरुक उचालिए । त्यसो हुनु भनेको आँसु झर्नुको पूर्व संकेत थियो ।

“कस्तो अचम्म कसले हान्यो होला खुकुरीले ? के बिगारी दिएको थियो होला र ?” भासिएको आवाजमा बोलें म ।

“पैसाले, अरु कसले हुन्थ्यो । खर्च घटाउन, पैसा बचाउन नेपालबाट गएका सोह्र जना साथीहरू मिलेर एउटै कोठामा बसेका छौं भन्थ्यो । गएको पन्ध्र महिना अगाडि एक पटक पैसा पठाएको थियो । त्यसपछि प्रत्येक महिना पालैपालो सबै साथी भाइ मिली एकमुष्ठ सबैको रकम एकजनाले पठाउने सल्लाह भएको छ आमा भन्थ्यो । मंसिरको अन्तिममा मेरो पालो छ भन्थ्यो । पन्ध्र महिना भएको थियो पैसा नपठाएको, तर मंसिरको बाइस गते उसको लास आयो ।” –ऊ फेरि भित्रै देखि कोक्किएर रुन थाली ।

“त्यसको मतलब सँगै बस्ने साथीहरूले मारे राजिवलाई ।”

”अनि के त ? मर्ने अघिल्लो दिनसम्म दिनभरी गाडी चलाएर साँझमा गाडी पार्क गरी साहूलाई साँचो बुझाएर फर्किएको रे कोठामा ।”

“मान्छे कतिसम्म गिर्छन् है पैसाको लागि । आ–आफ्नै पैसा खुरुखुरु पठाए हुने । उसको पालो आयो पैसा पठाउने, पैसा दिनुपर्छ भनेर मारिदिए असत्ती मुर्दाहरूले, उनीहरूको कहिल्यै भलो नहोस् ।” –भावनामा बग्दै हेलिएँ म पनि बेहिसाब ।

“शायद उनीहरू मर्न पर्दैन होला ।” दबेको आवाजमा सुस्तरी बोली ऊ । उसको आवाज ठूलो गुफाभित्रबाट आएको झैं भासिएको थियो कताकता अनकन्टारमा ।

“विदेशमा पनि नेपालीले नेपालीलाई मार्न छाडेनन् है । अनि तिम्रो श्रीमान् कहाँ के गर्छन् त ?” –विषय मोडेर म उसलाई सम्हाल्ने प्रयत्न गर्छु ।

“उसले छाडेर गएको त झन् एघार वर्ष भै सक्यो ।”

“सरी, मैले जताबाट पनि तिम्रो मुटुमा घोचिमात्र दिदिरै’छु । म त तिमीलाई भुलाउने कोसिसमा थिएँ।”

“छाड भुलेर भुल्ने घाउ कहाँ लागेको छ र मेरो छातीमा । अब त लाग्छ यिनै घाउ बल्झेर उकुच पल्टी लैजाने छ एकदिन । के गरुँ मान्छेको मनै यस्तो बनाइदिदा रै’छन् सृष्टिकर्ताले । आफ्नो एउटा मृगौला कुहिंदा पनि फियो र कलेजोको खातिर सम्हाल्न विवश बनाउँदो रहेछ – दोश्रो मृगौला । पतिको मृत्युमा सँगै जाउँ झैं लागेको थियो तर टाप्लाकटुप्लुक बसेका पिल्पिलाउँदा छोरा–छोरीको मुहार हेरेर बाँच्ने चाह उम्रियो । जवान छोरोलाई डढाएर खाक बनाउँदा पनि त्यही चाहना आएथ्यो मनमा तर डोली चढाउने बेला भएकी छोरीको भविष्य र पिलपिलाउँदो कान्छो छोरालाई हेरें । भुल्न करै लाग्यो सबै कुरा ।”

“त्यही त प्रकृतिको मायावी खेल हो अनौठो । म पनि आमाको बिछोडमा बुवालाई हेरेर समालिएँ । बुवाको मृत्युमा आँखामा राखे पनि नबिझाउने श्रीमान् हेरेर समालिएँ। एकातिर नाता टुट्छ अर्को तिर गाँसिन्छ । म उसलाई सम्झाउन प्रयासरत थिएँ ।

“हो त, तैपनि छिनेको मायाको डोरी, ओझेल परेको छायाँ र अस्ताएको सम्झना फेरि पटक–पटक किन आउँछ मुटु निमोठ्न ?”– ऊ हातले नदीको पानी खेलाउँदै बोली । त्यतिखेर लहरै पारी चितामा तीनवटा लास एकैपटक जल्दै गरेका कारण नाक फुट्ला झैं बाक्लो गन्ध आएको थियो हावामा घोलिएर । रुनेहरू पनि थाकेछन् क्यारे । रोएको आवाजहरू हराए । मान्छेको कोकोहोलो भने मडारिंदै थियो वातावरणमा ।

“शर्मिला, पिण्ड पूजा गर्न पर्दैन ? के गरेर बसेको त्यहाँ?” पछाडिबाट चिर्रर परेको आवाजको सुइरो रोपिन आउँछ । हामी दुवै जना एकैपटक फर्कन्छौ“ आवाज आएतिर ।

मेरी दिदी कालो मुहार लगाएर ठिङ्ग उभिएकी थिइन् दुई खुड्किला माथि । उनको मुहारको भाव हेर्दा लाग्छ म त्यहाँ बसेको पचेन पटक्कै ।

“म गएँ ल । पिण्ड पूजा गर्ने बेला भयो रे ।” उठ्दै विदा माग्छु ऊसँग ।

“तिमीलाई एउटा कुरा सोधु“ ?” लत्रिएको मेरो सल टिपिदिदै बोली ऊ ।

“अ, सोध न, के कुरा ?” उचालिसकेको पाइला टक्क रोक्दै भनें ।

“यो श्राद्ध गरेर के मरेको मान्छेले पाउँछन् त ?”– बेढङ्गको प्रश्न सोधें भन्ठानेर हो कि अलिकति खुम्चिई ऊ आफैंभित्र ।

“त्यो त मलाई पनि थाहा छैन, तर मनमा भने शान्ति मिल्छ । आफ्नो बाबुआमाको लागि वर्षको एकदिन भए पनि सम्झिएँ भनेर । फेरि यो त परम्परादेखि चल्दै आएको हिन्दुहरूको संस्कार पनि हो ।” म बोल्दै सिंढी चढेँ,पुरेतले श्राद्ध अन्तिम अवस्थामा पुर्याइसकेका रैछन् । पिण्डको पूजा गरियो । पिण्डलाई नदीमा प्रक्रिया पुर्याएर बगाउन पठाए पुरेतले । फुक्त डुब्यो पिण्ड पानीमा । एउटा बा“दर दौडेर गयो पानीमा । पानीबाट पिण्ड निकाली खाँदै दौडियो बाँदर । म त्यो बाँदरलाई हेरी रहें । बाँदर ऊ भएको छेवैबाट भाग्यो । ऊ भने अझैं पनि पानीमा आफ्नो छोराको छायाँ खोज्नमा तल्लीन थिई स्तब्ध भएर, आफैमा हराएर अनि सम्झनामा डुबेर ।

जेन–जी आन्दोलनका दिवङ्गत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली सहित सुबिसुधा आचार्य, भर्जिनिया, अमेरिकाबाट (साहित्यकार सुबिसुधा आचार्यका फ्रन्टपेज, अग्नियुद्द र रहस्यमय भोगाई कथासंग्रहहरू लगायत अन्य विधाका दर्जनौं पुस्तकहरू प्रकासित छन् ।)

प्रतिक्रिया