
अगस्त २५ आइतवार अनेसास डीसी च्याप्टरले १६० ओँ मोतीजयन्ती मनाएको छ । कार्यक्रममा मोतीरम भट्टको सम्झनामा गजल, मुक्तक र कवितावाचन गरियो । मोतीरामको साहित्यिक र व्यक्तित्व चिनारी दिँदै बीओटी सचिव नारायण अधिकारीले मोतीराम नेपाली साहित्यमा ऐतिहासिक र उल्लेखनीय कार्य सम्पन्न गरेका व्यक्तिका रूपमा चिनारी दिए । कवीन्द्र सिटौलाको स्वागत मन्तव्य र विद्यार्थी आरोही रेग्मीको कण्ठस्थ गीतापाठबाट अगाडि बढेको कार्यक्रममा गजलका अध्येता डा. घनश्याम न्यौपाने परिश्रमी प्रमुख अतिथि र नेपाली राजदूतावासका इकोनोमिक काउन्सिलर योगराज पाण्डे तथा अनेसासका संस्थापक होमानाथ सुवेदी विशिष्ट अतिथि रहे ।
प्रमुख अतिथिको रूपमा बोल्दै परिश्रमीले भने, ‘मोतीराम भट्ट नेपाली साहित्यिक इतिहासमा थुप्रै नवीन कार्यहरू गर्ने एक विशेष प्रतिभा हुन् । उनले नेपाली साहित्यमा माध्यमिक कालको प्रारम्भ मात्र गरेनन् बरु समालोचना, जीवनीलेखन, भानुभक्तलाई आदिकविको रूपमा चिनाउने काम, छापाखाना भित्र्याउने, पत्रकारिता, गजल, शृङ्गारिकलेखन भित्र्याने काम पनि गरे ।’ उनले अनेसास डीसी च्याप्टरले निकै राम्रा काम गरेको पनि बताए ।
विशिष्ट अतिथिको रूपमा बोल्दै अनेसासका संस्थापक होमनाथ सुवेदीले मोतीराम सबैले सम्झिने र श्रध्दा गर्ने नाम भएको बताए । कार्यक्रममा अनेसासका सल्लाहकार रोहिणी शर्माले बालबालिकाहरूलाई यस्ता कार्यक्रममा सहभागी गराउन आवश्यक रहेको भन्दै गीता कण्ठस्थ सुनाउने विद्यार्थी आरोही रेग्मीलाई पचास डलर पुरस्कार स्वरूप प्रदान गरे ।
बीओटी सल्लाहकार पुरु सुवेदीले अनेसास डीसी च्यापटरले नयाँ कामको सुरुवात गरेको भन्दै खुसी व्यक्त गरे । अनेसास केन्द्रका महासचिव राजु सिटौलाले आफूहरू च्याप्टरहरूको सक्रियताका लागि सहयोग गर्न हरदम तयार रहेको बताए । त्यसैगरी सल्लाहकार मोहन सिटौलाले डीसी च्याप्टरले सबै च्याप्टरहरूको प्रतिनिधित्व गर्नुपर्ने बताए । कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष भीम रेग्मी, पूर्व उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, साहित्यकार एनबी अन्जान, केशर तिमल्सिना, रामहरि फुयाल, गण्डकीपुत्र, गजलिका, घनबहादुर थापा, रोहित राना, रामु सुवेदी, जीवन निरोला, राम अधिकारीलगायतले गजल, मुक्तक र कविताहरू वाचन गरे । एएनएचएसका बीओटी सभापति केदार तिम्सिनाले कार्यक्रम सफल र उपलब्धिमूलक भएको भन्दै खुसी व्यक्त गरे ।
सोही कार्यक्रममा अनेसासको स्थापना र समुन्नतिका लागि विशेष योगदान दिएका व्यक्तित्वद्वय भीम रेग्मी र गोवर्ध्दन पूजालाई विशेष सम्मान गरिएको थियो ।
दर्जनौँ कवि, साहित्यकार र साहित्यप्रेमीहरूको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता अनेसास वासिङ्टन डीसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको अध्यक्षता र महासचिव जगन्नाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया