
धार्मिक यात्रा त थिएन दक्षिण भारतको तर धार्मिक यात्राजस्तै हुन गयो । दक्षिण भारतको तमिलनाडु प्रान्तको दोस्रो ठुलो सहर कोयम्बतुर मुकाम थियो । केही दिन बिताउनु पर्ने भएको अवस्थामा डुल्ने कहाँ ? जाने कहाँ ? डुल्नु नै मूल उद्देश्य भएपछि प्रमुख यस क्षेत्रका प्रमुख स्थानहरुको भ्रमण गर्नैप¥यो । र, दक्षिण भारत पुगेपछि रामेश्वरम नपुगी यात्रा अधुरै रहने हुन्छ ।
कोयम्बतुरबाट रामेश्वरम लगभग ३८४ किलोमिटर रहेको छ । कोयम्बतुरबाट रामेश्वरमको लागि हवाई मार्ग रहेनछ, यसले गर्दा बसकै सहारा लिनुपर्ने देखियो । दिउँसो जाँदा केही दृश्यहरु हेर्न पाए पनि एक दिनको समय पूरा जाने हुनाले रात्री सेवाको बस नै उपयुक्त देखियो । रात्री बस पनि गज्जबको हुने रहेछ । कोही मानिस सुतेर जाने पाइने त कोही भने बसेर जान पाउने । बसेर जान चाहनेले त्यसैअनुरुपको टिकट लिनुपर्छ । हामीले साधारण टिकट रिजर्भ गरेका थियौँ । हामी अर्थात् म, श्रीमती रेणु गुप्ता, सालो बन्टी गुप्ता र छोरी रिया गरी चार जनाको चारओटा सिट थियो । अनलाइन बुकिङ गरिएकोले खोजेको सिट पाइएको रहेछ । अगाडिको दुई ओटा छाडेर त्यसपछिको सिट भने आरामदायी सिट रहेको थियो । आरामदायी यस अर्थमा कि सिट थियो फोल्डिङ र फोल्डिङ यस्तो कि मज्जाले सुत्न सकिने । साँझ करिब आठ बजे कोयम्बतुरबाट गुडेको हाम्रो यात्रा भोलिपल्ट बिहान करिब आठ बजे मात्र रामेश्वरम पुग्छ ।
हरेक साउनमा एक ज्योतिर्लिङको दर्शन गर्दै आएको म रामेश्वरम पुगेपछि त्यहाँ दर्शन नगर्ने कुरै हुँदैन । रामेश्वरमलाई हिन्दू धर्ममा दुई किसिमले तीर्थस्थलको रुपमा पनि लिइन्छ । पहिलो त बाह्र ज्योतिर्लिङमध्ये एक हो र दोस्रो भने अझ महत्त्वपूर्ण छ ।
तमिलनाडुको एउटा जिल्ला हो – रामनाथपुरम । यस जिल्लाको मुख्यालय (सदरमुकाम) सहर पनि रामेश्वरम नै । जसलाई हामी रामेश्वरम भन्दछौँ, त्यसको औपचारिक नाम रामनाथपुरम नै हो । अर्थात्, रामनाथपुरम जिल्ला र सदरमुकाम सहर दुवैको नाम हो । यस जिल्लाको क्षेत्रफल ४,१०४ वर्ग किलोमिटर रहेको छ । यहाँको मुख्य भाषा तमिल हो तर अंग्रेजी पनि जनसामान्यले सजिलै बोल्ने र बुझ्ने गर्दछन् । हिन्दीको प्रभाव सहरी क्षेत्रमा मात्र छ, मुस्किलले बुझ्दछन् यहाँका मानिसहरु । कहिलेकाहीँ आफ्नै किसिमको समस्या हुने गर्दछ संवादमा ।
रामेश्वरममा हामी खोज्दछौँ एउटा सरकारी गेस्ट हाउस । वास्तवमा रामेश्वरममा रहेको कस्टम विभागको गेस्ट हाउसमा पुग्नुपर्ने थियो र अटोमा पुग्छौँ । कोही पनि परिचित नभए पनि त्यहाँ हामीलाई बस्ने व्यवस्था निकै राम्रोसित मिलाइन्छ । तेस्रो तल्लामा भव्य कक्षमा हाम्रो निवास हुन्छ । यस्तो सेवा र सुविधा त कल्पना नै गरिएको थिएन ।
के भएको थियो भने कोयम्बतुरमा रहेको अमृता विश्वविद्यालयको कृषि विभागमा छोरीसित पढ्ने एक जना छात्राको बुवा कुनै ठुलो पदमा हुनुहुँदोरहेछ । छोरीको निकै घनिष्ठ साथी भएको कारण तिनले आफ्नो बुवालाई भनेर पहिले नै बुक गराइदिएकी रहिछन् । त्यस प्रकारका कर्मचारीका लागि भने निशुल्क हुने उक्त गेस्ट हाउसमा हामी पनि निशुल्क नै बस्न पाउँछौँ ।
हरेक साउनमा एक ज्योतिर्लिङको दर्शन गर्दै आएको म रामेश्वरम पुगेपछि त्यहाँ दर्शन नगर्ने कुरै हुँदैन । रामेश्वरमलाई हिन्दू धर्ममा दुई किसिमले तीर्थस्थलको रुपमा पनि लिइन्छ । पहिलो त बाह्र ज्योतिर्लिङमध्ये एक हो र दोस्रो भने अझ महत्त्वपूर्ण छ । हिन्दू धर्ममा मानिने चार धाममध्ये एक धाम पनि हो रामेश्वरम । हरेक हिन्दू जो सक्षम छ, सम्भव भएसम्म कम्तीमा एक धामको दर्शन गर्नुपर्छ । धाममा कम्तीमा एक रात विश्राम गर्नुपर्छ भन्ने मान्यता रहेको छ । यसअघि मैले जगन्नाथपुरीको दर्शन गरेको छु । यस हिसाबले दोस्रो धाममा पनि प्रवेश पाइसकेको छु ।
अलिकति आराम गरेपछि रामेश्वरम दर्शनको लागि तयार हुन्छौँ । कारण के हो भने अहिलेसम्म खाना खाएका छैनौँ र धार्मिक क्षेत्रमा अलिकति नियम मान्नु नै राम्रो । सबै जना तयार भएर बाहिर निस्कन्छौँ र सोध्छौँ कि मन्दिर कति टाढा छ भनेर । हिँडेर पनि पुग्न सकिने छ, करिब डेढ किलोमिटर तर हामी एउटा टेम्पोमा बसेर निस्कन्छौँ मन्दिरतिर ।
भगवान रामले लंकामाथि आक्रमण गर्नुअघि समुद्र किनारमा स्थापना गरेको महादेव रामेश्वरम हो भन्ने पहिलेदेखि नै सुन्दै आएको हुँ । आज २ अगस्त २०२४ (साउन १७, २०८१) शुक्रवार धीत मर्ने गरी यस क्षेत्रको दर्शन गर्ने अवसर प्राप्त गरेको छु । समुद्रको किनारमा रामले स्थापना गरेको मन्दिर भएको हुनाले सबैभन्दा पहिले त समुद्रस्नान नै गर्नुपर्छ । भूपरिवेष्ठित देशका हामीलाई त समुद्र जति देखे पनि नपुग्ने रहेछ । विशाल समुद्रमाथिको आकाशमा करिब एक घन्टा हवाई यात्रा गरेको छु । गंगासागरमा समुद्रसित जिस्केको छु र जगन्नाथपुरीमा धीत मर्ने गरी समुद्रसित जिस्केको छु तर खोई समुद्रसित भेट्ने अवसर आउन लाग्दा मन भने अधीर हुन छोड्ने रहेनछ । विशाल समुद्रलाई किनारबाट उभिएर हेर्दाको आनन्द आफ्नै किसिमको हुन्छ । यहाँ रामेश्वरममा भने शान्त समुद्र छ । पोखरीको जस्तो शान्त त पक्कै होइन, हल्का चलिरहने तर अन्यत्रको तुलनामा भने निकै शान्त । यहाँनेर खोच परेजस्तो गरी समुद्र रहेको छ वा बनाइएको छ, बुझ्न सकिएन तर आँखामा नअटाउने गरी पूर्व र उत्तरतिर विशाल जलराशी देखिन्छ । दक्षिणतिर भने किनार देखिन्छ टाढा हुँदै गएको ।
रामेश्वरम चाहिँ चारधाममध्ये एक र बाह्र ज्योतिर्लिङ्गमध्ये पनि हो । समुद्र किनारमा बालुवाद्वारा श्रीरामले बनाएको शिवलिङ्ग भनिएको पाइन्छ जुन अहिले प्रस्तर रुपमा रहेको छ ।
सफा पानीमा डुबुल्की मारिहालूँ जस्तो लाग्छ । अलिकति औपचारिकता पूरा गरेर समुद्रमा पस्दछौँ । मनले कैयौँ युगदेखि पर्खिरहेको स्नान न हो, शरीरले तृप्त हुन जानेको छैन, मन भने आनन्दविभोर हुन्छ । बाल्यकाल र किशोरवयमा गाउँको छेवैमा रहेको चानी नदीमा जसरी पौडी खेल्दथ्यौँ र जिस्कन्थ्यौँ, पानीभित्र अनेक खेलहरु खेल्दथ्यौँ, ती दिनहरुको सम्झनाको एक लहर आउँछ । अलिकति पौडेको अभिनय गर्छु, अलिकति पानीभित्रै डुबेर अलिकति पर पुग्ने प्रयास गर्छु, डुबेर भित्रभित्रै कहिले छोरी, कहिले श्रीमती त कहिले सालोसित जिस्कन्छु । गज्जब आनन्द छ ।
रामेश्वरम मन्दिरअगाडि समुद्रमा नुहाउनको लागि खासै कुनै डर छैन । छेवैमा नुहाए पनि हुन्छ वा आफ्नो रुचि तथा क्षमताअनुसार पचास साठी मिटर भित्रसम्म जाँदा पनि हुन्छ किनभने निकै विस्तारै गतिमा गहिरो हुँदै गएको छ समुद्र । आनन्दले हिँडेजस्तो गरेर पनि अलिकति परसम्म पुग्न सकिन्छ । समुद्रको कुनै ठुलो छाल आउने डर हुँदैन । अलिअलि पानी हल्लिएको जस्तो तरंग भने आइरहन्छ । ती नाममात्रका तरंगहरुले कुनै अप्ठेरो पार्दैनन् । यथार्थमा शान्त समुद्रमा स्नान गर्न चाहनेहरुले बंगालको खाडीको करिब करिब सबैभन्दा दक्षिणी छेउमा रहेको यस ठाउँमा पुगेर आफूलाई निर्धक्क भएर तृप्त पार्न सक्छन् । यहाँ समयको कुनै बन्धन हुँदैन र मानिसहरुको चहलपहलमा पनि कुनै कमी हुँदैन । अधिकांश मानिसहरु धार्मिक प्रवृत्तिका हुने र धेरै भीडभाड पनि नहुने हुनाले मनमा डरको कुनै सम्भावना हुँदैन । छालबाहेक समुद्रमा नुहाउनुका अन्य सबै आनन्द यहाँ पाउन सकिन्छ ।
स्नान गरेपछि अब दर्शनको पालो आउँछ । रामेश्वरममा दर्शनको लागि अलग्गै किसिमले व्यवस्था गरिएको छ । मन्दिरमा मुख्य रुपमा पूर्वी द्वारबाट मानिसहरु प्रवेश गर्दछन् । कुनै मन्दिरभन्दा कम नलाग्ने विशाल प्रवेशद्वारहरु छन् । मन्दिरका चार ओटा प्रवेशद्वारहरु एक समान छन् । भारतीय कलाका बेजोड नमुनाहरु रहेका छन् यी प्रस्तर प्रवेशद्वारहरु । साँच्चिकै यिनीहरुको निर्माणमा शताब्दियौँ लागेको र कैयौँ राजा तथा सामन्त र सेठहरुले समय, श्रम तथा धनको लगानी गरेका छन् ।
हिन्दू धर्ममा मानिने चार धाममध्ये एक धाम पनि हो रामेश्वरम । हरेक हिन्दू जो सक्षम छ, सम्भव भएसम्म कम्तीमा एक धामको दर्शन गर्नुपर्छ । धाममा कम्तीमा एक रात विश्राम गर्नुपर्छ भन्ने मान्यता रहेको छ । यसअघि मैले जगन्नाथपुरीको दर्शन गरेको छु । यस हिसाबले दोस्रो धाममा पनि प्रवेश पाइसकेको छु ।
पैसा तिर्नेहरुको एक लाइन र पैसा नतिर्नेहरुको अर्को लाइन हुने रहेछ । पैसा तिर्नेहरुको लाइन अलिकति छिटो जाने र रामेश्वरम महादेवको निकट पुगेर दर्शन गर्न सकिने रहेछ । पैसा नतिर्नेको लाइन भने शिवलिङ्गको निकट त पुग्ने रहेछ तर पैसा तिर्नेहरुभन्दा अलिकति कम निकट । दर्शनमा विभेद भएको अनुभूति हुन्छ ।
भव्य प्रवेशद्वारबाट भित्र पसेपछि २२ कुण्ड तीर्थमा स्नान गर्नुपर्ने हुन्छ । मन्दिर परिसरभित्र अनेक तीर्थ निर्माण गरिएका छन् । दुई पोखरी छन् । स्कंद पुराणमा वर्णन गरिएअनुसार रामेश्वरम मन्दिर परिसरभित्र २२ तीर्थस्थल रहेका छन् । २२ कुण्डमा क्रमशः पुग्दै अगाडि बढ्दै जानुपर्छ । हरेक कुण्डबाट पानी निकाल्ने मानिसहरुको व्यवस्था गरिएको छ । कुण्डबाट पानी निकाल्दै दर्शनार्थी यात्रुको जिउमा छर्कदै गरिरहेका हुन्छन् । कतिपयले पैसा दिँदा एक बाल्टी पानीले नुहाइदिँदा रहेछन् । हैनभने सबैको जीउमा पानी छम्किँदै अगाडि बढ्न निर्देशन गरिरहेका हुन्छन् । कतिपय यात्रुहरुले भने आफूसित भएका अलिकति खुद्रा पैसा हरेक कुण्डको छेउमा राख्दै अगाडि बढिरहेका हुन्छन् । रमाइलो तथा झन्झटिलो दुवै लागे पनि यसको संस्कृति भइसकेकोले प्रायः सबैले मानिरहेका हुन्छन् ।
मन्दिरमा नियमानुसार दर्शन गरें दुई तीर्थस्थलको । सबैतिर उल्लेख गरिएको छ : रामेश्वरम चाहिँ चारधाममध्ये एक र बाह्र ज्योतिर्लिङ्गमध्ये पनि हो । समुद्र किनारमा बालुवाद्वारा श्रीरामले बनाएको शिवलिङ्ग भनिएको पाइन्छ जुन अहिले प्रस्तर रुपमा रहेको छ । निकै नजिकबाट दर्शन गरेपछि मन्दिरबाट निस्कँदै गर्दा केही फोटाहरु खिच्यौँ । मन्दिरबाट बाहिर निस्केर खाना खाई घुम्दै गेस्ट हाउसतिर फ़र्कियौ ।
बाहिर गर्मी छ चर्को । जब गेस्ट हाउसको आफ्नो कोठामा छिर्छौँ तब आनन्द लाग्छ । एसीको चिसोले एकैछिनमा निद्रा लाग्छ, सबै जना निदाउँछौँ । दिउँसो अलिकति घाम कम हुन थालेपछि र आकाशमा बादल देखा पर्न थालेपछि डुल्न निस्कन्छौँ । पहिले त लागेको थियो कि रामेश्वरम मन्दिर र सेतबाँध एकै ठाउँमा हुनुपर्छ । तर बुझ्दा भने निकै टाढा रहेछ । एउटा अटो भाडामा लिनुपर्छ र भाडामा लिएपछि त्यसले त्यहाँका सबै ठाउँ डुलाउने रहेछ । हामीले पनि त्यसै ग¥यौँ, एउटा अटो भाडामा लियौँ र सेतबाँधतिर लाग्यौँ । सेतबाँधको अन्तिम बिन्दुलाई धनुषकोटि वा धनुषकोडि भनिँदोरहेछ । स्थानीयहरुले धनुषकोडिसहित विभिन्न ठाउँको भ्रमण गराउने भन्दै अटो लिएर आउँदा रहेछन् ।
धनुषकोडि पुग्नुभन्दा पहिले एउटा सानो पहाड आउँछ । मूल सडकभन्दा करिब दुई किलोमिटर उत्तरमा पर्छ । यहाँ हनुमान मन्दिर छ । यस सानो पहाडलाई गंधमादन पर्वत भनिन्छ । गंधमादन पर्वत त्यहीँ पर्वत हो जहाँबाट हनुमानले लंका पुग्नको लागि छलाङ लगाएका थिए । भनिन्छ, अहिले पनि यहाँ हनुमानले आफ्नो सम्पूर्ण शक्ति लगाएर छलाङ लगाउँदा पहाडमा पैतालाको बसेको छाप सुरक्षित छ । यस प्रकारको विश्वास भएको ठाउँमा पुग्न पाउँदा रामायणको घटनासित साक्षात्कार भइरहेको छ ।
यहाँ पुग्नुभन्दा केही पहिलेदेखि नै दुवैतिर समुद्र देखिन थाल्छन् । दुवैतिर समुद्र र बिचमा बाटो छ । बाटोमा चारपाङ्गे र तीनपाङ्ग्रेका साथै दुईपाङ्ग्रे सबारी साधन गुडिरहन्छन् तर बाक्लो गरी होइन । जता अहिले गइरहेका छौँ त्यहाँबाट गाडी फर्किनेहरु मात्र हुन्छन् । त्यहाँबाट अगाडि जान पाउने ठाउँ नै छैन । करिब ३५ किलोमिटर यस्तो बाटो छ जहाँ दुवैतिर समुद्र छन् । यस्तो बाटोमा हिँड्न पाउँदाको आनन्द नै बेग्लै हुन्छ । यस किसिमको आनन्द हामी भूपरिवेष्ठित गाउँठाउँका मानिसले पाउन मुस्किलै हुन्छ । यथार्थमा हाम्रो लागि पनि यो दुर्लभ आनन्द थियो । अटोमा बसेर दुवैतिरको सामुद्रिक दृश्य हेर्दै आनन्दविभोर हुँदै अझ अगाडि बढिरहेका छौँ जहाँबाट समुद्रबाहेक केही पनि देखिँदैन । अर्थात्, त्यो ठाउँ जहाँबाट लंका पुग्नको लागि रामदलले ढुंगाको पुल निर्माण गरेका थिए भन्ने विश्वास रहेको छ । पुलको अस्तित्व अहिले पनि समुद्रमा रहेको विश्वास रहेको छ । समुद्रको सौन्दर्य मनोहर सौन्दर्यलाई हेर्दै परम आनन्दको अनुभव गर्दै अगाडि बढिरहेका छौँ । फर्किनेबाहेक अन्य कुनै हतार छैन र जसले यताबाट बोकेर लग्दैछ, उसैले नै उताबाट पनि फर्काउनुपर्ने त्यहाँको सामान्य चलन रहेको छ । यद्यपि अटोचालकको भनाइ छ – समय कम छ, यसैले छिटो गर्नुपर्छ, छिटो गरेर सबै ठाउँ हेरेर फर्किनुपर्छ ।
आहा, कति रमाइलो ठाउँ रहेछ । कालोपत्रे पनि टुंगिएको र अन्तिम बिन्दु आइपुगको त्यो ठाउँ जहाँ केवल समुद्र देखिन्छ । जहाँबाट उभिएर हेदा आफू आएको बाटोबाहेक चारैतिर समुद्र । अनन्त समुद्र । उक्त ठाउँमा बनाइएको रहेछ एउटा स्तम्भ । स्तम्भले चाहिँ परेबाट यस ठाउँको संकेत दिँदो रहेछ ।
यहाँ मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ । बाक्लो उपस्थिति यसकारण कि जो आउँछन्, यहीँ रोकिन्छन् । यहाँबाट फर्किने भनेको आएकै बाटो हो । अगाडि कुनै बाटो नै छैन । यहाँ अलिकति फराकिलो ठाउँ बनाइएको रहेछ र यहाँ विभिन्न किसिमका खानेकुरा किन्न पाइन्छन् । सबै चाहिँ पोके पसलजस्ता नै छन् । साइकलमा बेच्ने आइसक्रिम पनि पाइन्छ । मलाई समुद्री खानेकुरा मन पर्छ तर यो साउन महिना हो । आसपासको छेत्रमा समुद्री माछाका परिकारहरु नपाइने होइन, साना छाप्रे होटलहरु पनि भेटिन्छन् बाटामा । अन्य सामुद्रिक खानेकुरा भने नपाइने यथार्थ हो । खाजाको रुपमा साना बजारहरुमा पाइने जस्ता खाजाहरु पर्याप्त छन् । यस्तो ठाउँमा आउनु अनि एक छेउमा बसेर अलिकति खाना पनि नखानू ? यो सधैको लागि पछुतो हुन्छ । मलाई त नरिवल र नरिवलपानी निकै मन पर्छ । त्यसैले पहिले नरिवल नै किन्छु । त्यसपछि भाँजा । अनि अरु के के हो खाँदै घरि यता भिडियो त घरि उता फोटो लिने काम गर्छौँ सबैजना । मोबाइलको युग छ, मोबाइलमा सबै विस्तारै कैद हुँदै गर्छ ।
गंधमादन पर्वत त्यहीँ पर्वत हो जहाँबाट हनुमानले लंका पुग्नको लागि छलाङ लगाएका थिए । भनिन्छ, अहिले पनि यहाँ हनुमानले आफ्नो सम्पूर्ण शक्ति लगाएर छलाङ लगाउँदा पहाडमा पैतालाको बसेको छाप सुरक्षित छ । यस प्रकारको विश्वास भएको ठाउँमा पुग्न पाउँदा रामायणको घटनासित साक्षात्कार भइरहेको छ ।
हावाको गति भने निकै तीव्र छ । हाम्रोतिर करिब आँधी नै भन्न मिल्ने किसिमको हावा चलिरहेको छ । हावा हामीलाई लागेको दिशा, पूर्व–दक्षिण कोण र दक्षिणबाट बढी रहेको छ । जताबाट हावा छ, समुद्रको छाल पनि उतैबाट रहेको छ । यदि कोही पानी छुन खोजिरहेका छन् भने प्रहरीले रोक्ने काम गरिरहेको देखिन्छ । सुरक्षाकर्मीको नजर एकदम तिखो छ । निकै किनारमा जान पनि नदिएको अवस्था छ । यद्यपि यहाँको बनोट नै यस्तो छ कि एक दुई ढुंगा तलतिर जान मिल्ने छैन । ढुंगालाई पानीले छोएर, छ्यापेर र भिजाएर भागिरहेका लहरहरु कतिपय निकै चञ्चल लाग्दछन् । कुनै कुनै लहर त निकै माथि भएर आएको देखिन्छ । सायद त्यसैले समुद्रको पानी छुने गरी कसैलाई पनि प्रहरीहरुले ढुंगामा बस्न दिएका छैनन् । समुद्रको लहरसँगै अनेकौँ साना माछा, गंगटा र अन्य चिन्न नसकिने कीरा तथा कुन कुन जीवहरु देखिन्छन् । समुद्रको छाल र लहरको बिचमा बाँचिरहेका जीवनहरुले पनि मानिसलाई संघर्ष गर्न सन्देश दिएको देखिन्छ । संघर्ष त जीवन हो । जीवन संघर्ष हो, हामी यसरी पानीको लहरमा लहरिँदै कहाँ कहाँ पुगेर बाँचिरहेका छौँ । ती जीवहरुले भनिरहेजस्तो लाग्छ ।
सन्ध्या भइसकेको छैन । सूर्य भने निकै पश्चिमतिर गइसकेको छ । सूर्यको लगभग सबैभन्दा लामो छाया दिने प्रकाश समुद्रको त्यो किनारमा परिरहेको छ । आफ्नो जीउमा परिरहेको प्रकाशले बनाएको त्यो छड्के आफ्नो छाया कति लामो छ भनेर पानीमा हेर्दा समुद्रको छालमाथि ठम्याउन सकिँदैन । एक जनालाई सोध्छु हिन्दीमा, यहाँबाट श्रीलंका कति टाढा छ होला ? उनी भन्दछन्, १७ किलोमिटर । जसरी यहाँसम्म भारतको जमिन छ, त्यसरी नै उताबाट श्रीलंकाको जमिन चाहिँ १७ किलोमिटर हो । भारत र श्रीलंकाबिचको सबैभन्दा छोटो दुरीमा रहेको समुद्र अर्थात् साँघुरो समुद्र यही नै हो । अलिकति गुगल सर्च गर्छु । गुगलले पनि यही देखाउँछ, १८ किलोमिटर ।
हाम्रो आँखाले यत्तिको दुरी देख्न सक्दैन भन्ने कुरा मैले राम्ररी बुझेको छु ।
टाढा टाढा समुद्रमा माछा मारिरहेका छन् थुप्रै डुंगाहरुमा मानिसहरुले । जताततै देखिन्छन् डुंगाहरु, अनगिन्ती । निकै टाढासम्म, आँखाले भ्याएसम्म । निर्भय भएर तिनीहरुले समुद्रको लहरसँगै पौठेजोरी खेल्दै माछा मारिरहेका छन् । जता हेरे पनि निलो आकाशको छायाँ देखिन्छ समुद्रभरि । आकाशमा उडिरहेका बादलहरुको छाया बडो मुस्किलले समुद्रको छालले पचाएको छ । हल्लिरहेको पानीमा आकाश पनि हल्लिरहेको जस्तो देखिन्छ । माथि आकाश र तल समुद्रको गहिराइको बिचमा समुद्रको सतहमा साना डुंगाहरुमा माछा मार्नेहरुलाई मलाई निकै साहसी लाग्दछन् । फेरि विचार गर्छु – जीवन बाँच्नको लागि हो । यिनीहरुले पनि जीवन र आजीविकाका लागि नै गरिरहेका छन् समुद्रमा माछा मार्ने यात्रा । समुद्र पनि जीविकाको आधार हो धेरै जनाको । हजारौँले आजीविका गरिरहेको देखिन्छ ।
विस्तारै मानिसहरुको संख्या कम हुन थालेको छ । यहाँ आउनेहरु विस्तारै कम भइसकेका छन् । यहाँ आएर यदि एक घन्टा पनि समय नबिताउने हो भने हतार हुन्छ । आफैँमाथि अन्याय हुन्छ । यस्तो दुर्लभ समय फेरि पनि नपाइन सक्छ । दुर्लभ समयको उपयोग भइरहँदा एकातिरबाट प्रहरीहरु अब फर्किन सल्लाह दिइरहेका छन् भने हाम्रो अटो चालकले पनि विस्तारै अत्याउन थालेका छन् । एकपटक फेरि सबैभन्दा छेउमा पुगेर समुद्रलाई विदाइको हात हल्लाउँछु श्रीलंकातिर फर्केर । अनि अटो रिक्सातिर पाइला बढाउँछौँ सबै जना ।

पत्रकार/लेखक
प्रतिक्रिया