कसैले आक्रमण गरेमा भारतलाई अमेरिकाको साथ: राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फ्रान्समा विशेष भेट

इनेप्लिज २०८३ असार ३ गते १६:५८ मा प्रकाशित

फ्रान्सको एभियनमा भइरहेको जी–७ सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एउटा महत्त्वपूर्ण बैठक भएको छ। 

बैठकमा राष्ट्रपति ट्रम्पले यदि भारतमाथि कुनै देशले आक्रमण गरेमा अमेरिकाले भारतलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारेका छन्  । दुई देशबीच कुनै लिखित सैन्य सम्झौता नभए पनि अमेरिका संकटको बेला सधैँ भारतको पक्षमा उभिने ट्रम्पले बताए । इतिहासनै यस्तो भन्ने अमेरिकी राष्ट्रपति ट्रम्प हुन ।

भेटघाटपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले प्रधानमन्त्री मोदीसँग व्यापारका विषयमा राम्रो कुराकानी भएको र दुवै देश नयाँ व्यापारिक सम्झौताहरू गर्न लागिपरेको जानकारी दिए। 

ट्रम्पले मोदीलाई वार्तामा आफ्नो कुरा दह्रोसँग राख्न सक्ने ‘कडा नेता’ भन्दै तारिफ गरे र आफू छिट्टै भारत भ्रमणमा जाने इच्छा समेत व्यक्त गरे।

सन् २०२५ को फेब्रुअरीमा मोदीले वासिङ्टनको भ्रमण गरेयता यी दुई नेताबीच पहिलो पटक प्रत्यक्ष भेट भएको हो। विगत केही समयदेखि अमेरिका र भारतबीचको सम्बन्धमा केही असमझदारी र चिसोपन बढेको थियो। 

अमेरिकाले भारतीय सामानमा बढी कर लगाएको, भारतले रुसबाट तेल किनेकोमा असन्तुष्टि जनाएको र भारतको विरोधी देश पाकिस्तानसँग नजिकिएको कारण दुई देशबीच केही दूरी बढेको थियो।

सम्बन्ध सुधार्न गत महिना अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतको भ्रमण गरेका थिए । 

तर, केही समयअघि खाडी क्षेत्रमा अमेरिकी नौसेनाको आक्रमणबाट तीन जना भारतीय नाविकको मृत्यु भएपछि सम्बन्ध फेरि तनावपूर्ण बनेको थियो। 

यही पृष्ठभूमिमा प्रधानमन्त्री मोदीले ट्रम्पसँगको भेटमा सामुद्रिक मार्गमा काम गर्ने भारतीय नाविकहरूको सुरक्षा भारतका लागि सबैभन्दा महत्त्वपूर्ण विषय रहेको कुरा जोडदार रूपमा उठाए ।

तनावका बीच भएको यो भेटवार्ताले दुई देशबीचको मित्रता र सैन्य सम्बन्धलाई फेरि बलियो बनाउने आशा गरिएको छ।

प्रतिक्रिया