
विश्वकप भकुण्डो अर्थात् फुटबल प्रतियोगितामा साविक विजेता अर्जेन्टिनाले सुखद सुरुवात गरेको छ। कप्तान लियोनेल मेसीको ऐतिहासिक ३ गोल अर्थात् ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई सजिलै पराजित गर्यो। यस खेलसँगै ३८ वर्षीय मेसीले विश्वकपको इतिहासमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमानको बराबरी गरेका छन्।
अमेरिकाको क्यान्सस शहर रंगशाला (सिटी स्टेडियम)मा भएको समूह ‘जे’ को यस खेलमा मेसीले उत्कृष्ट प्रदर्शन गरे। खेल सुरु हुनुअघि मेसी विश्वकपमा सबैभन्दा बढी १६ गोल गर्ने जर्मनीका पूर्वखेलाडी मिरोस्लाभ क्लोजभन्दा ३ गोलले पछि थिए। तर, खेलको ७६ मिनेटभित्रै तीन गोल (ह्याट्रिक) गर्दै उनले क्लोजको कीर्तिमान भेट्टाए।
खेलको सुरुवात निकै रोमाञ्चक थियो। सुरुमै मेसी र अल्जेरियाका फारिस चेबीको गोललाई निर्णायक( रेफ्री)ले अफसाइड भन्दै मान्यता दिएनन्। तर, चाँडै नै अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो कमाल देखाए। गोलखम्बा भन्दा ३० गज टाढा बल पाएका मेसीले विपक्षी खेलाडीलाई छक्काउँदै उत्कृष्ट गोल गरेर अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए।
मध्यान्तर अगाडी अल्जेरियाले अर्जेन्टिनालाई कडा टक्कर दियो। अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टारको टाउकोद्वारा गरिएको भकुण्डो गोलपोस्ट माथिबाट बाहिरियो। अर्कोतर्फ, अल्जेरियाका अनिस हाज मुसाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले सहजै बचाए।
मध्यान्तर पनि मेसी नै खेलको केन्द्रबिन्दु बने। म्याक एलिस्टारको शक्तिशाली प्रहारलाई अल्जेरियाका गोलकिपर लुका जिदानले रोक्न सकेनन् र फर्किएको बललाई मेसीले निकै चलाखीपूर्ण तरिकाले गोल गरे ।
आफ्नो देशका लागि २००औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले नजिकबाट उत्कृष्ट प्रहार गर्दै आफ्नो ह्याट्रिक अर्थात् ३ गोल पुरा गरे। अब जुन २२ मा अस्ट्रियाविरुद्ध हुने खेलमा एक गोल गरेमा मेसी विश्वकप इतिहासकै सबैभन्दा बढी गोल गर्ने एक्लो खेलाडी बन्नेछन्। पराजित अल्जेरियाले भने अब जोर्डनको सामना गर्नेछ।
प्रतिक्रिया