विश्वकपको अदृश्य खेल : बल मैदानमा, नियन्त्रण दिमागमा !

मदन बस्नेत, टोरन्टो। २०८३ असार ३ गते ९:४३ मा प्रकाशित

यतिबेला फुटबल विश्वकपको ज्वरोले संसारलाई रन्काएको छ। करोडौं समर्थकहरू आफ्ना प्रिय टिम र खेलाडीको पक्षमा गोलबन्द भएका छन्। सडक, चोक, क्याफे, कार्यालयदेखि सामाजिक सञ्जालसम्म जताततै एउटै बहस सुनिन्छ—‘तिमी कुन टिमको समर्थक ?’ कसैले अर्जेन्टिनाको जर्सी लगाएको छ, कसैले ब्राजिलको झण्डा फहराएको छ। कोही मेसीका लागि रातभर जाग्राम बस्न तयार छन् भने कोही रोनाल्डोको नाममा सामाजिक सञ्जालमै युद्ध लड्न पनि पछि पर्दैनन्। फ्रान्सका समर्थकहरू एमबाप्पेको गतिमा मोहित छन्, स्पेनका समर्थकहरू यामालको जादुमा रमाइरहेका छन्, जर्मनी, इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सका समर्थकहरू आफ्ना टिमको गौरवगाथा सुनाइरहेका छन्।

तर एउटा रोचक प्रश्न छ—हामी किन कुनै विशेष टिमलाई समर्थन गर्छौं ? किन कुनै खेलाडीप्रति असाधारण आकर्षण महसुस गर्छौं ? के यो केवल खेल कौशलको परिणाम हो ? वा यसको पछाडि समाज, राजनीति, वर्ग, संस्कृति र विचारधाराको पनि कुनै भूमिका हुन्छ ?

आजको पुस्तालाई यो प्रश्न अनौठो लाग्न सक्छ। किनकि उनीहरूको फुटबल संसार युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम र डिजिटल एल्गोरिदमले निर्माण गरेको संसार हो। तर केही दशक पछाडि फर्केर हेर्ने हो भने फुटबल केवल खेल थिएन, त्यो विचार र चेतनाको युद्धभूमि पनि थियो।

१९८० र १९९० को दशकतिर नेपालमा विश्वकप फुटबल हेर्ने तरिका आजभन्दा धेरै फरक थियो। त्यतिबेला आजजस्तो सूचना विस्फोट भएको थिएन। समाचारको मुख्य स्रोत रेडियो नेपाल, गोरखापत्र र राति नौ बजे प्रसारण हुने बीबीसी नेपाली सेवा थिए। सामान्य ज्ञान र अन्तर्राष्ट्रिय घटनाक्रम बुझ्न “अन्तर्राष्ट्रिय मञ्च” जस्ता पत्रिका पढिन्थे। संसारलाई बुझ्ने झ्याल सीमित थिए, तर विचारको प्रभाव अत्यन्त गहिरो थियो।

फलतः फुटबलको समर्थन पनि कतिपयका लागि केवल खेलको रुचि नभएर वैचारिक अभिव्यक्ति बन्न पुग्थ्यो।

त्यो समय नेपालमा वर्गसंघर्ष, साम्राज्यवाद, शोषण र मुक्ति जस्ता राजनीतिक शब्दहरू व्यापक रूपमा चर्चामा थिए। पञ्चायती व्यवस्थाको प्रतिबन्धित वातावरणमा पनि कम्युनिष्ट विचारधारा विभिन्न माध्यमबाट समाजमा फैलिरहेको थियो। वर्गीय दृष्टिकोणबाट संसारलाई हेर्ने अभ्यास बढिरहेको थियो। र त्यही दृष्टिकोणले विश्वकप फुटबललाई पनि प्रभावित गर्थ्यो।

युरोपका पश्चिम जर्मनी, इङ्ग्ल्यान्ड, इटाली, नेदरल्यान्ड्स जस्ता सम्पन्न पूँजीवादी राष्ट्रहरूलाई धेरैले शक्ति, प्रभुत्व र ऐतिहासिक उपनिवेशवादका प्रतिनिधिका रूपमा हेर्थे। अर्कोतर्फ ब्राजिल, अर्जेन्टिना, उरुग्वे, चिली, पाराग्वे जस्ता दक्षिण अमेरिकी राष्ट्रहरूलाई संघर्षशील, शोषित र उत्पीडित समाजको प्रतिनिधिका रूपमा चित्रण गरिन्थ्यो। फलतः फुटबलको समर्थन पनि कतिपयका लागि केवल खेलको रुचि नभएर वैचारिक अभिव्यक्ति बन्न पुग्थ्यो।

त्यसैले ब्राजिललाई समर्थन गर्नु केवल सुन्दर फुटबलप्रतिको मोह थिएन, त्यो शक्तिशाली राष्ट्रहरूको वर्चस्वविरुद्ध एउटा सांस्कृतिक समर्थन पनि थियो। अर्जेन्टिनालाई मन पराउनु केवल डिएगो म्याराडोनाको प्रतिभाको प्रशंसा थिएन, त्यो कमजोर र संघर्षरत राष्ट्रप्रतिको सहानुभूति पनि थियो।

पेले, म्याराडोना, जिको, सोक्रेटिस, रोमारियो, रोनाल्डो, रिभाल्डो जस्ता दक्षिण अमेरिकी खेलाडीहरू केवल खेलाडी थिएनन्, उनीहरू करोडौं मानिसका सपनाका प्रतिनिधि थिए। गरिब बस्तीबाट उठेर विश्व जितेका उनीहरूको कथाले संसारभरका संघर्षशील समाजलाई प्रेरणा दिन्थ्यो।

त्यसैगरी नेदरल्यान्ड्सका रड गुलिट केवल उत्कृष्ट फुटबलर मात्र थिएनन्, उनी रंगभेदविरोधी चेतनाका प्रतीक पनि थिए। जर्मनीका फ्रान्ज बेकेनबाउर, कार्ल–हाइन्ज रुमेनिग्गे, लोथार माथाउस वा रुडी फोलरहरू पश्चिमी अनुशासन र संगठित शक्तिका प्रतिनिधि मानिन्थे। खेलाडीहरूलाई पनि उनीहरूको खेलभन्दा बाहिरको सामाजिक र राजनीतिक प्रतीकका रूपमा हेरिन्थ्यो।

म्याराडोना लाखौं गरिब र उत्पीडित मानिसका लागि विद्रोहको प्रतीक बने।

डिएगो म्याराडोनाको नाम आउँदा फुटबल र राजनीतिबीचको सम्बन्ध झन् स्पष्ट देखिन्छ। १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध उनले गरेको चर्चित “ह्यान्ड अफ गड” गोललाई धेरै समर्थकले केवल नियम उल्लंघनका रूपमा हेरेनन्। फकल्याण्ड युद्धको तीतो स्मृतिबाट गुज्रिरहेको अर्जेन्टिनाका लागि त्यो शक्तिशाली राष्ट्रविरुद्धको प्रतीकात्मक प्रतिशोधजस्तो थियो। म्याराडोना लाखौं गरिब र उत्पीडित मानिसका लागि विद्रोहको प्रतीक बने।

त्यसैले त्यो युगमा फुटबल टिम रोज्नु भनेको धेरै हदसम्म आफ्नो विश्वदृष्टि रोज्नु पनि थियो। तर समय परिवर्तन भइसकेको छ।

आज विश्वकपको समर्थन गर्ने तरिका फरक छ। हिजो राजनीतिक प्रशिक्षणले मानिसको फुटबल चेतना निर्माण गर्थ्यो भने आज डिजिटल एल्गोरिदमले गर्छ। हिजो विचारधाराले प्रभाव पार्थ्यो भने आज मार्केटिङ, ब्रान्डिङ र सामाजिक सञ्जालले प्रभाव पार्छ।

आज मेसी, रोनाल्डो, एमबाप्पे, हालान्ड, यामाल वा बेलिङ्घमप्रतिको आकर्षण केवल उनीहरूको प्रतिभाका कारण मात्र होइन, विश्वव्यापी मिडिया उद्योगले निर्माण गरेको छविका कारण पनि हो।

आज मेसी, रोनाल्डो, एमबाप्पे, हालान्ड, यामाल वा बेलिङ्घमप्रतिको आकर्षण केवल उनीहरूको प्रतिभाका कारण मात्र होइन, विश्वव्यापी मिडिया उद्योगले निर्माण गरेको छविका कारण पनि हो। सामाजिक सञ्जालले हरेक दिन करोडौं मानिसको मनमा नयाँ नायक निर्माण गरिरहेको छ। हामी कुन भिडियो हेर्छौं, कुन खेलाडीलाई फलो गर्छौं, कुन टिमको समाचार बारम्बार देख्छौं—यी सबै कुरा अदृश्य एल्गोरिदमले निर्धारण गरिरहेका छन्।

हिजो पार्टीका कार्यकर्ताले ब्राजिल वा अर्जेन्टिनाको पक्षमा तर्क गर्थे। आज फेसबुक, युट्युब र टिकटकका एल्गोरिदमले मेसी र रोनाल्डोको पक्षमा भावनात्मक लगाव निर्माण गरिरहेका छन्। माध्यम फेरिएको छ, तर मानिसको चेतनामाथि प्रभाव पार्ने प्रक्रिया भने अझै जीवित छ।

त्यसैले आज पनि प्रश्न उही छ—के हामी साँच्चै स्वतन्त्र रूपमा आफ्नो टिम रोजिरहेका छौं ? कि कुनै न कुनै शक्ति, कुनै न कुनै विचार, कुनै न कुनै बजार र कुनै न कुनै एल्गोरिदमले हाम्रो रोजाइलाई आकार दिइरहेको छ ?

फुटबल विश्वकप केवल ९० मिनेटको खेल होइन। यो राष्ट्रवाद, संस्कृति, बजार, राजनीति, वर्ग, पहिचान र मनोविज्ञानको विशाल रंगमञ्च हो। मैदानमा २२ खेलाडी दौडिरहेका हुन्छन्, तर मैदानबाहिर अरबौं मानिसका भावना, विचार, सपना, विश्वास र पहिचान पनि सँगै दौडिरहेका हुन्छन्।

सायद यही कारणले फुटबल संसारको सबैभन्दा लोकप्रिय खेल बनेको हो। किनकि विश्वकपमा केवल गोलको प्रतिस्पर्धा हुँदैन, त्यहाँ विचारको पनि प्रतिस्पर्धा हुन्छ। बल मैदानमा गुडिरहेको हुन्छ, तर वास्तविक खेल धेरै पटक हाम्रो दिमागभित्र खेलिइरहेको हुन्छ।

र यही हो विश्वकपको सबैभन्दा ठूलो, सबैभन्दा रोचक र सबैभन्दा अदृश्य खेल।

मदन बस्नेत, टोरन्टो।

प्रतिक्रिया