ऐतिहासिक सहमति: अमेरिका र इरानबीचको नयाँ सम्झौता तुरुन्तै लागू हुने, दुवै राष्ट्रपतिद्वारा हस्ताक्षर

अङ्किय हस्ताक्षरपछि फ्रान्समा गरियो वास्तविक हस्ताक्षर

इनेप्लिज २०८३ असार ४ गते ०:१६ मा प्रकाशित

अमेरिका र इरानबीच भएको सम्झौता तुरुन्तै लागू भएको छ। पाकिस्तानका प्रधानमन्त्रीले दुवै पक्षले यसमा हस्ताक्षर गरिसकेको जानकारी दिएका छन्। यस सम्झौताको औपचारिक र विशेष समारोह भने आउँदो शुक्रबार स्विट्जरल्याण्डमा आयोजना हुने तय भएको छ।

एक अमेरिकी अधिकारीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेस्कियान दुवैले बुधबार फ्रान्सको ऐतिहासिक ‘भर्सायल्स’ दरबारमा यस सम्झौतामा हस्ताक्षर गरेका हुन्।

भर्सायल्स दरबारबाट बाहिरिँदै गर्दा राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीहरूसँग खुसी हुँदै भने, “मैले भर्सायल्समै यस सम्झौतामा हस्ताक्षर गरिसकेको छु।” ह्वाइट हाउसले पनि ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको कुरा पुष्टि गरेको छ, तर हस्ताक्षर गर्दा त्यहाँ पत्रकारहरू भने उपस्थित थिएनन्।

यसअघि अधिकारीहरूले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले गत आइतबार नै डिजिटल माध्यमबाट (अन्तर्जालमार्फत) यसमा हस्ताक्षर गरिसकेको बताएका थिए। एपीका अनुसार आइतबारको अङ्किय (डिजिटल)हस्ताक्षर र बुधबार भर्सायल्समा गरिएको वास्तविक हस्ताक्षरमा के फरक छ भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन। साथै, इरानका तर्फबाट यस विषयमा अहिलेसम्म कुनै आधिकारिक भनाइ बाहिर आएको छैन। यो हस्ताक्षरसँगै अन्तिम सम्झौतामा पुग्नका लागि ६० दिनको समयसीमा (वार्ताको घडी) सुरु भयो कि भएन भन्ने कुरा पनि खुल्न बाँकी छ।

इतिहासमा फ्रान्सको भर्सायल्स दरबार ठूला-ठूला युद्धहरू अन्त्य गर्ने र ऐतिहासिक सन्धिहरू गर्ने ठाउँको रूपमा परिचित छ। यसअघि सन् १९१९ मा पहिलो विश्वयुद्ध अन्त्य गर्नका लागि पनि यही दरबारमा ‘भर्सायल्स सन्धि’ गरिएको थियो, जसलाई इतिहासमा निकै महत्त्वपूर्ण मानिन्छ।

प्रतिक्रिया