ईरान–इजरायल युद्धमा ट्रम्पको “ऐतिहासिक” संलग्नताका लागि नेतन्याहुद्वारा धन्यवाद, पुनः निर्माण गरे दह्रो कारबाही हुने

इनेप्लिज २०८२ असार १० गते २२:३६ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति ईरान–इजरायल संघर्षमा “ऐतिहासिक” भूमिका निर्वाह गरेको भन्दै आभार व्यक्त गरेका छन्।

मंगलबार राति राष्ट्रलाई सम्बोधन गर्दै नेतन्याहुले ट्रम्पलाई “रक्षात्मक मात्र होइन, आक्रामक रणनीतिमा समेत सहभागी भई समन्वय गरेको” भन्दै प्रशंसा गरे। उनले यसलाई “ऐतिहासिक घटना” भनी उल्लेख गर्दै भने, “हामीले ह्वाइट हाउसमा यसभन्दा ठूलो मित्र कहिल्यै पाएका थिएनौं।”

नेतन्याहुले युद्धविराम हुनु केही घण्टा अघिनै इजरायलले ईरानमाथि ५० वर्षयताकै सबैभन्दा “विनाशकारी प्रहार” गरेको दाबी गरे।

“हामीले सयौं क्रान्तिकारी रक्षाका सदस्यहरू र शासन समर्थकहरूलाई समाप्त गर्‍यौं,” उनले भने।

उनले इजरायलले ईरानको आणविक कार्यक्रम “पूर्णरूपमा ध्वस्त” पारेको र यदि ईरानले पुनः निर्माण गर्ने प्रयास गर्‍यो भने “हामी फेरि त्यही दृढताका साथ जवाफ दिनेछौं” भनेर चेतावनी पनि दिए।

त्यस्तै संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत डेनी डेननले भने, “ईरानसँग कूटनीतिक वार्ता गर्न अझै समय छ,” भन्दै “तर त्यो चाँडै सुरु हुनसक्छ” भन्ने विश्वास व्यक्त गरे।

डेननले इजरायलले खाडी राष्ट्रहरूसँग सम्बन्ध विस्तारको संकेत दिँदै अब “क्षेत्रीय साझेदारी र पुल निर्माणको समय आएको” बताए। उनले यूएई, बहराइन र मोरक्कोसँग अब्राहम सम्झौतामार्फत स्थापित सम्बन्धको पनि स्मरण गरे।

प्रतिक्रिया