अहमदाबादको भीषण हवाई दुर्घटनापछि एयर इन्डिया सञ्चालक टाटा समूहले मृतक परिवारलाई १ करोड रुपैयाँ झण्डै १ लाख १७ हजार अमेरिकी डलर सहायता दिने घोषणा गरेको छ।
टाटा सन्स तथा टाटा समूहका अध्यक्ष एन. चन्द्रशेखरनले सामाजिक सञ्जाल एक्समार्फत भने, “हामी घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्छौं र उनीहरूलाई आवश्यक हेरचाह र सहयोग सुनिश्चित गर्नेछौं।”
विमानले ठोक्किएको बी.जे. चिकित्सा अध्ययन संस्था (मेडिकल कलेज)को छात्रावास पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता टाटा समूहले जनाएको छ। चन्द्रशेखरनले भावुक हुँदै भने, “शब्दहरूले यो क्षणको पीडा व्यक्त गर्न सक्दैनन्। हामी शोकमा परेका परिवारहरूसँग हृदयपूर्वक सहानुभूति व्यक्त गर्छौं।”
एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत क्याम्पबेल विल्सनले एक्समा सार्वजनिक श्रब्यदृश्य( भिडियो )मा वक्तव्य दिँदै भने, “यो एयर इन्डियाका सबैका लागि कठिन दिन हो। अहिले हाम्रो सारा ध्यान यात्रु, चालकदल तथा उनीहरूका परिवारको आवश्यकता पूर्ति र सहयोगमा केन्द्रित छ।”
यस दुर्घटनाले अन्तर्राष्ट्रिय स्तरमै ज्यादै दुखद तुल्याएको छ । पोप लियो चौधौंले यो दुर्घटनाले आफू “गहिरो दुःख” मा परेको सन्देश टेलिग्राममार्फत दिएका छन्।
पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले दुर्घटनामा ७ जना पोर्चुगाली नागरिक सवार रहेको बताउँदै शोक सन्देश व्यक्त गरेका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले*दुर्घटनाबाट “विनाशकारी पीडा” महसुस भएको उल्लेख गर्दै क्यानडाली नागरिक र अन्य सबैप्रति सहानुभूति व्यक्त गरेका छन्। उनले भारतसँग नजिकबाट समन्वय भइरहेको बताए।
बेलायती राजा चार्ल्स तेस्रोले विमान दुर्घटनाबाट “अत्यन्तै स्तब्ध” भएको भन्दै, “धेरै राष्ट्रका परिवार र प्रियजनलाई परेको यो पीडादायी क्षणमा हामी विशेष प्रार्थना र गहिरो समवेदना प्रकट गर्छौं,” भनेका छन्।
एयर इन्डिया बिमानमा २४२ जना यात्रु सवार थिए, जसमा क्यानडाका एक नागरिक र सात पोर्चुगाली नागरिक पनि थिए।
प्रतिक्रिया