भारतको पश्चिमी शहर अहमदाबादबाट लण्डनतर्फ उडेको एयर इन्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त हुँदा २०० भन्दा बढीको मृत्यु भएको छ।
यो पछिल्लो दस वर्षको सबैभन्दा ठूलो हवाई दुर्घटना मानिएको छ।
विमानमा २४२ जना सवार थिए जसमा २१७ वयस्क, ११ बालबालिका र २ शिशु रहेका थिए। विमान उडेको केही समयमै अहमदाबादको बी.जे. मेडिकल कलेज(चिकित्सा अध्ययन संस्था )को खाना खाने टेबलमाथि खसेर आगो लाग्दा दर्जनौँ चिकित्सा शास्त्रका विद्यार्थीहरूको पनि ज्यान गएको बताइएको छ।
शहरका प्रहरी प्रमुख जी.एस. मलिकले २०४ वटा शव बरामद गरिएको जानकारी दिए। रोयटर्सका अनुसार जीवित भेटिएको खबर अहिलेसम्म आएको छैन। भारतीय पत्रिका इन्डियन एक्सप्रेसले सबै २४२ जनाको मृत्यु भएको दाबी गर्दै प्रहरी स्रोतलाई उद्धृत गरेको छ।
राज्य स्वास्थ्य सचिव धनञ्जय द्विवेदीले शव पहिचान गर्न शोकसन्तप्त परिवारहरूलाई डिएनए नमुना दिन आग्रह गरिएको जानकारी दिए। घटनास्थलमा उद्धारकार्य तीव्र रूपमा जारी रहेको र ८०% क्षेत्र खाली गरिसकिएको प्रहरी अधिकारीहरूले बताए।
एयर इन्डियाका अनुसार मृतकमध्ये १६९ जना भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ जना क्यानाडेली थिए। दुर्घटना भएको विमान बोइङ ७८७-८ ड्रीमलाइनर हो, जुन संसारकै सबैभन्दा आधुनिक यात्री विमानमध्ये एक हो।
फ्लाईइटराडरका अनुसार यो विमान सन् २०१३ मा पहिलोपटक उडेको थियो र सन् २०१४ मा एयर इन्डियालाई हस्तान्तरण गरिएको थियो। यो ड्रीमलाइनरको पहिलो दुर्घटना पनि हो।
यो बिनाशकारी दुर्घटनाले दर्जनौं परिवारमा शोकमा डुबाएको छ । यो दिन भारतको हवाई इतिहासमा कहिल्यै बिर्सन नसकिने पीडादायक दिन बनेको छ।
प्रतिक्रिया