राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको नयाँ यात्रा प्रतिबन्ध सोमबारदेखि लागू भएको छ ।
मुख्यतया अफ्रिका र मध्यपूर्वका १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा रोक लगाएको छ। यो कदम आप्रवासन कडाइ गर्न सुरु गरिएको अभियानको भागस्वरूप आएको हो।
प्रतिबन्ध अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूमा लागु हुनेछ ।
यसका अतिरिक्त बुरुण्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई पनि कडा नियम लगाइएको छ ।
शुक्रबार जारी गरिएका कूटनीतिक निर्देशनअनुसार पहिल्यै जारी गरिएका प्रवेशाज्ञाहरु खारेज हुने छैनन्। तर नयाँ आवेदनहरू केवल विशेष छुटका मापदण्ड पूरा गरे मात्र स्वीकृत हुनेछन्। पुराना प्रवेशाज्ञा भएका व्यक्तिहरूले प्रतिबन्ध लागू भए पनि अमेरिका प्रवेश गर्न पाउनेछन्।
ट्रम्पको पहिलो कार्यकालमा मुसलमान देशहरूका नागरिकलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा ठूलो अस्तव्यस्तता ल्याएको थियो।
तर यसपटक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिबन्ध लागू भएपछिको केही घण्टासम्म त्यस्तो अव्यवस्था नदेखिएको सिविएसन्यूजले जनाएको छ ।
यो प्रतिबन्धलाई मानव अधिकारवादी र आप्रवासनसम्बन्धी समूहहरूले पुनः चुनौती दिने सम्भावना उच्च रहेको छ ।
प्रतिक्रिया