युक्रेनको उत्तरी शहर प्रिलुकीमा रूसी मानव रहित यान (ड्रोन) आक्रमणमा परी एक वर्षे बालकसहित पाँच जनाको ज्यान गएको छ। क्षेत्रीय गभर्नर भ्यासेस्लाव चाउसले बिहीवार जानकारी दिँदै यो रातभरि भएको आक्रमणको पुष्टि गरेका हुन्।
चाउसका अनुसार बिहीवार बिहानै प्रिलुकीमा इरानी शहेद प्रकारका ६ वटा मानव रहित यन (ड्रोन)हरूले आवासीय क्षेत्रमा हमला गर्दा घरहरूमा गम्भीर क्षति पुर्यायो। घटनामा अन्य ६ जना घाइते भएका छन् भने उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।
यो आक्रमण केही घण्टाअघि मात्र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको संवादपछिको घटनाक्रम हो। ट्रम्पका अनुसार पुटिनले युक्रेनी मानव रहित यान (ड्रोन) आक्रमणको बदला लिन “एकदमै कडा रूपमा” चेतावनी दिएका थिए।
यति मात्रै होइन, पूर्वी युक्रेनको खार्किभमा पनि बिहीवार बिहानै रूसी मानव रहित यान (ड्रोन )आक्रमण भयो, जसमा १७ जना घाइते भए। तीमध्ये बालबालिका, एक गर्भवती महिला, र ९३ वर्षीया वृद्धा पनि छन्। खार्किभ क्षेत्रीय प्रमुख ओलेह स्यिनिएहुबोभका अनुसार बिहान १:०५ बजे शहेद मानव रहित यान (ड्रोन)हरूले स्लोबिड्स्की जिलास्थित दुई अपार्टमेन्ट भवनलाई लक्षित गरे। विस्फोटले आगलागी भई निजी सवारीहरू समेत नष्ट भएका छन्।
स्यिनिएहुबोभले सामाजिक संजाल मार्फत लेखे, “मानिसहरू निदाएको बेला हमला गरेर शत्रुले फेरि एकपटक आफ्नो कायर आतंक रणनीति पुष्टि गर्यो।”
प्रतिक्रिया