कञ्चनपुरको भीमदत्त-११ मा तिन महिने कम्प्युटर तालिम सम्पन्न, ६० युवालाई प्रमाणपत्र

इनेप्लिज २०८२ जेठ २३ गते १०:२५ मा प्रकाशित

कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर-११ ले सञ्चालन गरेको तीन महिने आधारभूत कम्प्युटर तालिमको बुधवार भव्य समापन भएको छ। स्थानीय युवाहरूलाई डिजिटल युगमा आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित यो तालिमले ६० जना विद्यार्थीहरूलाई डिजिटल साक्षरताको महत्त्वपूर्ण सीप प्रदान गरेको छ।

वडा अध्यक्ष प्रकाश थापाको सभाध्यक्षतामा सम्पन्न समापन समारोहमा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा वडा अध्यक्ष थापाले तालिमले युवाहरूलाई आधुनिक युगको मागअनुसार सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। “हामीले यो तालिममार्फत युवाहरूलाई आत्मनिर्भर बनाउन र प्रविधिको उपयोग गर्न सक्षम बनाउन खोजेका हौँ,” उनले भने। “सिकेको सीपलाई व्यवहारमा उतारेर आफूलाई सक्षम बनाउनुहोस्।” उनले तालिमको सफलताका लागि सहयोग पुर्‍याउने देवल इन्स्टिच्युट अफ टेक्नोलोजी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिए। साथै उहाँले आगामी दिनमा पनि विभिन्न शिक्षामुखी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता गर्नुभएको छ।

नगर प्रमुख बोगटीले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै कम्प्युटरको ज्ञान आजको युगमा अपरिहार्य भएको बताए। “प्रविधिको उपयोगले तपाईँको भविष्य उज्ज्वल हुनेछ। यो सीपले तपाईँलाई आत्मनिर्भर बनाउनेछ,” उनले भने। उनले वडा अध्यक्ष थापाको पहलको प्रशंसा गर्दै यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

तालिम पूरा गरेका ६० जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो, जसले उनीहरूको डिजिटल साक्षरताको यात्रालाई प्रमाणित गर्छ।

भीमदत्त-११ ले गत वर्ष पनि यस्तै तालिम सञ्चालन गरेको थियो भने निःशुल्क तयारी कक्षाहरू पनि आयोजना गर्दै आएको छ। स्थानीय बासिन्दाले वडा अध्यक्ष थापाको शिक्षा र सीप विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्।

वडा अध्यक्ष थापाको अगुवाइमा वडा नम्बर ११ ले शिक्षा र सीप विकासमा देखाएको निरन्तर प्रतिबद्धता प्रशंसनीय भएको वडावासीको भनाई रहेको छ।

त्यस्तै देवल इन्स्टिच्युट अफ टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालित यो तालिमले स्थानीय युवाहरूलाई प्राविधिक सीप प्रदान गरी युवाहरूलाई आधुनिक समाजमा अगाडि बढ्न सशक्त बनाएको छ।

प्रतिक्रिया