राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘मानसिक अवस्था र स्वचालित हस्ताक्षर उपकरण (अटोपेन) प्रयोग’ सम्बन्धी छानबिन आदेश, स्वास्थ्य लुकाउन षड्यन्त्रको आरोप

इनेप्लिज २०८२ जेठ २३ गते ११:०७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनको अटोपेन (स्वचालित हस्ताक्षर उपकरण) प्रयोग र मानसिक क्षमतामाथि प्रश्न उठाउँदै व्यापक छानबिनको आदेश दिएका छन्। बुधबार जारी ज्ञापन (मेमो)मा ट्रम्पले बाइडेनको “स्मरणशक्ति र सोच्ने क्षमताको ह्रास अवस्थालाई लुकाउन गरिएको सम्भावित षड्यन्त्र” को उल्लेख गरेका छन्।

ट्रम्पको आदेशअनुसार राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार, महान्यायाधिवक्ता पाम बन्डी, र विभिन्न निकाय प्रमुखहरूले मिलेर अनुसन्धान गर्नु पर्नेछ ।

बाइडेनको मानसिक क्षमताको अवस्थालाई लुकाउने उद्देश्यले कसैले राष्ट्रपतिका नाममा असंवैधानिक रूपमा कार्यभार सम्हाले वा जनतालाई भ्रममा पारेको भन्दै उनले यस्तो आदेश दिएका हुन् ।

ट्रम्पले बाइडेनले स्वचालित हस्ताक्षर उपकरण (अटोपेन )प्रयोग गरी हस्ताक्षर गरेका दस्तावेजहरूमा माफी आदेश, कार्यकारी आदेश, स्मरणपत्रहरू सबैको पुनरावलोकन गर्न भनेका छन्। उनले स्वचालित हस्ताक्षर उपकरण प्रयोगलाई “लज्जास्पद” भन्दै भने, “मैले कहिल्यै यस्ता महत्वपूर्ण कागजातमा स्वचालित हस्ताक्षर उपकरण प्रयोग गरेको छैन।”

यता बाइडेनले ट्रम्पको दाबीलाई “हास्यास्पद र असत्य” भन्दै खारेज गरेका छन्। उनले भने, “म आफैले निर्णय गरे—कार्यकारी आदेश, क्षमादान, कानुनमा हस्ताक्षर सबै मेरो निर्णय थिए।”

यसैबीच ट्रम्पले बाइडेन प्रशासनको कर वृद्धि र मेडिकेड कटौती गर्न लागेको विधेयकबाट ध्यान हटाउन यस्तो छानबिनको नाटक रचेको आरोप पनि लगाएका छन्।

यो अनुसन्धानले अब स्वचालित हस्ताक्षर उपकरण (अटोपेन)को वैधता, स्वास्थ्य लुकाउन गरिएको सम्भावित प्रयास, र बाइडेनद्वारा जारी गरिएको क्षमादान लगायत विषय समेट्ने भएको छ।

प्रतिक्रिया