बाध्यात्मक जिन्दगीको भोगाइको स्वरूपः उपन्यास “प्रतिरूप”

–बिजया भुसाल, मदाने, गुल्मी २०८२ जेठ २२ गते १०:५८ मा प्रकाशित

नेपाल सरकारको निजामतीतर्फ शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा प्रवेश गरी सचिव पदमा पुग्न सफल व्यक्ति खगराज बराल साहित्य तथा गैह्रसाहित्य लेखनमा पनि सफल छन् । नेपाली साहित्यको विविध विधामा निरन्तर कलम चलाइरहेका बरालले साहित्य क्षेत्रमा दुईओटा नामबाट लेख्छन्; खगराज बराल र श्रमिक बराल । शिक्षा र साहित्य क्षेत्रमा झण्डै दुई हर्जन जति पुस्तक लेखेका बरालका झण्डै डेढ दर्जन जति गीतहरू सङ्गीतबद्ध भैसकेका छन् ।

वि.सं. २०८१ सालमा बरालको “प्रतिरूप” उपन्यास बजारमा आयो । बरालको यो उपन्यास दोस्रो हो । यसपूर्व बरालले स्यानी नामको आञ्चालिकताले भरिपूर्ण उपन्यास लेखेका थिए । फरक फरक विषयमा लेख्न मन पराउने बरालको “प्रतिरूप” उपन्यास कथावस्तु, परिवेश, पात्र, कथा भन्ने शैली तथा प्रस्तुतीकरणका हिसाबले पनि नौलो छ ।

मैले जिन्दगीमा के कस्तो भोग्नु पर्दोरहेछ भन्ने कुरा उपन्यास पढेपछि थाहा पाए । यस्ता भोगाइ रहरको नभई बाध्यात्मक हुँदारहेछन् । “प्रतिरूप” पढेपछि प्रतिरूपमा प्रस्तुत गरिएका पात्रहरू, पात्रहरूको भूमिकाले एउटा कथा मात्र भनेको छैन, आम नेपालीको विगतको दुःखपूर्ण जनजीवनलाई झल्काएको महसुस हुन्छ ।

विशेष त उपन्यासको सुरुवात नवीनको पढाइ र जागिरको सिलसिलाबाट हुन्छ । नवीन पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसबाट ओभरसियर पढाइ पूरा गरेपछि भैरहवा रहेको मर्चवार लिफ्ट इरिगेसन प्रोजेक्टमा जागिर पाउँछ । कुनै एक दिन लुम्बिनी रोडमा रिक्सा दुर्घटना हुँदा घाइते महिलालाई अस्पताल लैजानु
र महिलाको होस आउनसाथ आफ्नो अगाडि उभिएको नवीनको अनुहारमा प्रविन देख्ने घटनाले उपन्यासको कथामा फरक मोड सिर्जना गराइदिन्छ । त्यसको लगतै कथाले कौतुहूलता सिर्जना गर्दछ । नवीनलाई पनि लाग्छ कि यो प्रविन भन्ने मानिस को थियो ? किन दुर्घटनामा परेकी महिलाले “तिमी प्रविन हो ?” भनेर सोधिन् । यही प्रश्नले नवीनलाई मनमा छटपटी सिर्जना गराउँछ ।

उपचारपछि घर फर्केकी ती महिला काली हुन्छिन् । नवीन पनि कालीले सञ्चालन गरेको जयकाली भोजनालयमा खाना खाने गर्छन् । बिस्तारै काली, नवीन र कालीकी छोरी अस्मिताबिच आत्मियता बढ्दै जान्छ । नवीनले काली र अस्मिताप्रति देखाएको सहयोग र स्नेहभावले यी तीन सम्बन्धमा नयाँ मोड लिन्छ । तीनै
जनाले एउटा नयाँ परिवार पाए जस्तो महसुुुस गर्छन् ।

उपन्यासमा नेपालको पहाड र तराईको आर्थिक तथा सामाजिक परिवेश र ती परिवेशले सिर्जना गरेको जनजीविका सवाल र जीउने बाध्यतालाई उजागर गर्ने क्रममा लेखकले मेघालयको कोइलाखानीमा काम गर्ने नेपाली मजदूरहरूको अवस्थालाई पनि देखाएका छन् । साथै, यस उपन्यासबाट मेघालयका खासी समुदाय र उनीहरूको मातृसत्ताका सम्बन्धमा पनि धेरै कुराहरू बुझ्न सकिन्छ ।

कतिपय नेपाली युवाहरू मेघालयको कोइलाखानीमा काम गर्न जाने र त्यहीँका खासी आदिवासी समुदायका महिलाको प्रेममा परेर नेपालको घरबार बिर्सेका र उतै घरजम गरी बसेको विषयलाई लेखकले उपन्यासमा उठाएका छन् । यस्तै घटनामा घरबार बिर्सिएर खासी जातिकी महिलासँग विवाह गरी घरज्वाई बस्ने पात्र हुन् प्रविन । प्रविन यस उपन्यासमा त्यति प्रशंसायोग्य पात्रमा रूपमा देखिएका छैनन् । एउटा पुरूष; प्रविन; का कारण दुई जना महिला र ती दुई जना महिला र उनीहरूका छोराछोरीका साथै सिङ्गो परिवारमा र उनीहरूको जिन्दगीमा बाध्यात्मक भोगाइलाई उपन्यासको पठनबाट स्पष्ट बुझ्न सकिन्छ ।

लोग्नेमान्छे जहाँ जान्छ त्यहीँ श्रीमती बनाउँछ भन्ने नेपाली समाजको पुरानो भनाइलाई प्रतिरूपका पात्र प्रविनले लागु गरेको जस्तो देखिन्छ । भर्खर विवाह गरेकी नयाँ बेहुलीलाई माइतमा नै छाडी छिट्टै फर्कने वाचासहित कोइलाखानी गएका प्रविन जहाँ गए त्यतै हराए । प्रविन आफ्नो मर्यादा तथा धर्म छाडेर खासी जातिकी महिलासँग विवाह गरी घरज्वाई बसे । यता नयाँ बेहुली लोग्नेको आशा गर्दै बस्दा प्रविन आउनु त फरक कुरा उनको मृत्युको खबरले उपन्यास पढ्ने जोसुकैलाई पनि स्तब्ध बनाउँछ । मलाई पनि यस घटनाले नराम्रो महसुस भयो ।

“प्रतिरूप” उपन्यासमा घटनाहरूका शृङ्खला नै छन् । प्रत्येक घटना आफैँले देखे जस्तो लाग्छ । उपन्यासको पूरै कथा थाहा पाउनका लागि उपन्यास नै पढ्नु पर्छ । उपन्यास सरल छ, सुबोध्य छ । उपन्यास पढ्न सुरु गरेपछि नसकिकन छोड्न उपन्यासको कथाले दिदैँन ।

लेखकलाई आगामी दिनमा नेपाली भुईँमान्छेका जनजीवनका कथाहरू समेटिएका उपन्यास आउने अपेक्षासहित लेखकलाई शुभकामना ।

प्रतिक्रिया