प्रधानमन्त्री केपी शर्मा ओलीको “म झोले हो” पोस्टरमाथि डा. सन्देश लम्सालको जवाफ:

बिशाल कार्की २०८२ जेठ २२ गते १०:०४ मा प्रकाशित

“राजनीतिक झोले” होइन, देशभक्त नागरिक बन्नुपर्ने बेला आएको छ

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको “म झोले” हो पोस्टरले देशभरि व्यापक चर्चा र बहस निम्त्याएको छ । प्रधानमन्त्री ओलीले पोस्टरमा लेखेका छन्, “म झोले हो, एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम चरित्र हो ।” उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्र आलोचना र व्यङ्ग्यको केन्द्र बनिरहेको छ ।

प्रधानमन्त्रीको यस अभिव्यक्तिलाई नेकपा (एमाले) का उच्चस्तरीय नेताहरूले समर्थन जनाउँदै आफ्ना तस्बिरसहित सोही सन्देश सार्वजनिक गर्दै प्रचारप्रसार गरेका छन् । तर, आम नागरिकले यसको प्रतिरोध स्वरूप “म भ्रष्टाचारी हो” भन्ने व्यङ्ग्यात्मक पोस्टरहरू सार्वजनिक गर्न थालेका छन् । राजनीतिक चाकरी, भ्रष्टाचार, र असक्षमताको विरुद्ध जनताले यसरी विरोध प्रकट गरिरहेका बेला, डा. सन्देश लम्सालले भने यो विषयमा फरक ढंगले आफ्ना विचार प्रस्तुत गरेका छन् ।

नेपालका चर्चित युवा चिकित्सक, खेलाडी, लेखक, सामाजिक अभियन्ता तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको पहिचान बनाइसकेका डा. सन्देश लम्सालले यही विषयमा केन्द्रित भएर आफ्नो सामाजिक सञ्जालमा एक फरक पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा नेपाली टोपी र भेषभूषामा सजिएर उनले स्पष्ट रुपमा लेखेका छन्:

“सम्माननीय प्रधानमन्त्री ज्यू, म झोले होइन ! किन ?”
भन्दै दुईवटा प्रमुख कारण समेत व्यक्त गरेका छन् :

1. “म मेरो देशलाई आफ्नो राजनीतिक स्वार्थभन्दा माथि राख्दछु ।”
2. “म गलतको विरुद्ध बोल्ने नागरिक हुँ, आँखा चिम्लेर साथ दिने होइन ।”

पोस्टरको अन्त्यमा उनले थप लेखेका छन्: “कुनै पार्टीको झोले बन्नुभन्दा आफ्नो देशको देशभक्त नागरिक बन्नु कैयौँ गुणा उत्तम चरित्र ह।”

डा. लम्सालको यो विचारशील, सन्तुलित, र राष्ट्रवादी सन्देश सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भैरहेको छ । धेरै नेताहरू, बुद्धिजीवी वर्ग, युवा, विद्यार्थी तथा आम जनताले उनको भनाइको समर्थन गरेका छन् ।

उनको यो अभिव्यक्तिले राजनीतिक पार्टीको नाममा देश बेच्न खोज्ने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ । विगत केही वर्षयता डा. लम्सालले नेपाली राजनीति र जनतामाझ विद्यमान अन्याय र बदनामीविरुद्ध जनचेतना फैलाउने काम गर्दै आएका छन् । चाहे त्यो स्वास्थ्य क्षेत्रको सुधारमा केन्द्रित अभियान होस् वा भ्रष्टाचारविरुद्ध आवाज उठाउने काम, डा. लम्साल सत्य र देशहितको पक्षमा सदैव उभिने गरेका छन् ।

राजनीतिक नेताहरूमा लगातार देखा परेको पार्टीप्रतिको अन्धसमर्पण र व्यक्तिपूजाको प्रवृत्तिलाई उनले जिम्मेवार नागरिकका रूपमा उक्त पोस्टर मार्फत प्रश्न गरेका छन् । डा. लम्साल भन्छन्, देशको समृद्धिको सपना तब मात्र पुरा हुन्छ जब नागरिक सचेत हुन्छन्, गलतको विरुद्ध उभिन्छन् र नेतालाई होइन, राष्ट्रलाई सर्वोपरि ठान्छन् ।

उनको पोस्टमा उठाइएका विचारहरूले नेपाली युवालाई थप सचेत बनाएको छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कमेन्टमा लेखेका छन्, हामीलाई झोला होइन, जवाफदेह नेता चाहिन्छ यो देशका लागि साँचो झण्डा डा. लम्सालजस्तै युवा देशभक्तले बोकेका छन् “झोला बोक्ने झोलेले देश डुबायो, नेपाल आमाको आँसुले मन रुवायो” जस्ता सन्देशहरूले जनमत कतातर्फ मोडिँदै छ भन्ने स्पष्ट हुन्छ।

यो घटनाले नेताहरूको नारामा होइन, जनताको चेतनामा परिवर्तन आवश्यक छ भन्ने सन्देश सम्प्रेषण गरेको छ । एकातर्फ पुराना शक्तिहरू झोलालाई “विकास” को प्रतीक बनाएर प्रचारमा लागेका छन् भने अर्कोतर्फ युवाहरु चाहिँ विदेशी शक्ति केन्द्र, पार्टी, र नेताका झोला बोक्न छाडी, नयाँ सोच र उत्तरदायित्वको बाटो समात्न तयार देखिन्छन् ।

यसबीच प्रधानमन्त्री ओली र उनका समर्थकहरूले भने झोले बन्ने संस्कृति राजनीतिक रूपान्तरणको प्रतीक हो वा सत्ता टिकाउने अर्को चाल भन्ने प्रश्नको अझै स्पष्ट जवाफ दिएका छैनन् । तर, डा. लम्सालजस्ता सचेत नागरिकका आवाजहरूले अब सत्ता मोहको आडमा झोले राजनीति गर्नेहरू र सदैव सत्तामा रहन रुचाउने ठूला दलका नेताहरूलाई आत्मपरीक्षण गर्न बाध्य बनाउने भने प्रष्ट रुपमा देखिन्छ ।

यद्यपि यो बहस कहाँ पुगेर समाप्त हुनेछ भन्ने समयले बताउला, तर यस घटनाबाट एउटा कुरा भने स्पष्ट भएको छ, नेपालमा अब अन्धानुकरण नभई, विवेकपूर्ण नागरिक चेतनाको युग सुरु हुने लक्षण भने आज आएर देखिएको छ ।

बिशाल कार्की

उनको उक्त पोस्टको लिङ्कहरू यस प्रकार छन्:
१. एक्स/ट्विटरमा: Dr. Sandesh Lamsal on X: “सम्माननीय प्रधानमन्त्री @PM_nepal_ @kpsharmaoli ज्यू म झोले होइन ! https://t.co/HeZqXURTXd” / X
२. फेसबुकमा: सम्माननीय प्रधानमन्त्री PMO Nepal K P… – Dr. Sandesh Lamsal | Facebook

प्रतिक्रिया