गत मे २४, २०२५ का दिन अमेरिकाको मेरील्याण्ड राज्यको फ्लावर हिल इलेमेन्टरी बिद्यालयमा आयोजना भएको नेवा अर्गनाईजेसन अफ अमेरिका(एनओए)को २४ औं वार्षिक साधारणसभा तथा आजीवन सदस्य सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी भएका संस्थापक सदस्य, पदाधिकारीहरु ,स्वयंसेवक, युवा नेतृत्व र सांस्कृतिक अभियन्ताहरूको उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनायो।
कार्यक्रमको शुरुआत पारम्परिक सजावट तथा सुकुन्दाको पूजा तथा अतिथिहरूलाई खादा ओढाई गरियो। प्रमुख वक्ता शौनक रञ्जितकार, वरिष्ठ संस्थापक सदस्यहरू र वर्तमान नेतृत्वको उपस्थितिमा औपचारिक कार्यक्रम सुरु भयो।
अमेरिका र नेपालको राष्ट्रगान पश्चात प्रथम उपाध्यक्षले स्वागत मन्तव्य राखे। महासचिव बबिता श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एनओएको गतिविधिबारे जानकारी दिइन्। त्यसपछि कार्यवाहक कोषाध्यक्ष नवीन मोहन रञ्जितले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।
विधान संशोधन अद्यावधिक सत्र कार्यक्रमको मुख्य आकर्षण रह्यो, जहाँ नवीन मोहन रञ्जितको नेतृत्वमा प्रस्तुत संशोधन प्रस्तावहरूलाई सबै सहभागीले सर्वसम्मतिले पारित गरे।
संस्थाको प्रमुख पत्रिका ‘लस्कुस’ को डिजिटल(अङ्किय) विमोचन कार्यक्रमको अर्को महत्वपूर्ण क्षण बन्यो। प्रधान सम्पादक उदय श्रेष्ठको प्रस्तुतिमा प्रमुख वक्ता शौनक रञ्जितकार, वरिष्ठ नेता गणेश कायस्त र अध्यक्ष महेन्द्र प्रधानद्वारा पत्रिकाको विमोचन गरियो।
शौनक रञ्जितकारले आफ्नो प्रस्तुति “संस्कृतिक धरोहर: परम्पराबाट रूपान्तरणसम्मको यात्रामा उद्देश्यपूर्ण प्रगतिः” मा नेपाल सम्बतलाई अङ्किय (डिजिटल) माध्यमबाट विश्वमाझ पुर्याउने प्रयास तथा प्रविधिको भूमिकाबारे प्रेरणादायी सन्देश दिए।
त्यसपछि एनओएका पूर्व र वर्तमान अध्यक्षहरू(सीजन श्रेष्ठ, रामलाल श्रेष्ठ, बबिता श्रेष्ठ प्रधान, महेन्द्र प्रधान) को सहभागितामा संस्थाको भविष्य रणनीति विषयमा गहन परिचर्चा भयो, जसको संयोजन रोशनलाल श्रेष्ठले गरे।
लेखक अनिल रञ्जितले आफ्नो आउँदै गरेको पुस्तक रेसिसट्यान्स अफ खोकनाको झलक प्रस्तुत गरे। ढाचाकार (डिजाइनर) प्रसान्त ताम्रकारले फेशन मार्फत नेपाली संस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने अनुभव साझा गरे ।
कार्यक्रममा नयाँ आजीवन सदस्यहरूलाई सम्मान गरियो । उत्तीर्ण भएका विद्यार्थीहरूलाई कार्यसमिति सदस्यहरू दिभाकर धौभडेल , महेन्द्र प्रधान र राजेश श्रेष्ठद्वारा सम्मान गरिएको थियो । दिभाकर धौभडेलले धन्यवाद मन्तव्य दिँदै भविष्यमा थप योगदानको अपेक्षा व्यक्त गरे।
अध्यक्ष महेन्द्र प्रधानले कार्यक्रमको समापन गर्दै कार्यसमिति, स्वयंसेवक, युवा नेताहरू र समुदायका सदस्यहरूको योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले भने, “यो कार्यक्रम सहकार्य, परम्परा र साझा दृष्टिकोणको शक्ति दर्शाउने उदाहरण हो। हामी सबै मिलेर आगामी पुस्ताहरूको लागि एनओएको आधार अझ सुदृढ गर्दैछौँ।”
गायक सुगन्ध श्रेष्ठको साङ्गीतिक प्रस्तुति र स्वयंसेवक तथा कार्यसमितिका सदस्यहरूले प्रदान गरेको सांस्कृतिक रात्रिभोज सहित कार्यक्रम सम्पन्न भयो।
प्रतिक्रिया