हमासले अमेरिका-समर्थित युद्धविराम प्रस्तावमा केही संशोधनको माग राख्दै १० जीवित र १८ मृत इजरायली बन्धक आदान प्रदान गर्न तयार भएको जनाएको छ। बदला स्वरूप हमासले इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइ मागेको छ। तर, युद्ध अन्त्य र गाजाबाट इजरायली फौजको पूर्ण फिर्ती उसको प्रमुख सर्त बनेको छ, जुन इजरायलले अस्वीकार गरिसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष मध्यपूर्व दूत स्टीभ विटकोफले हमासको प्रस्तावलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै खारेज गरे। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विटकोफको खाका स्वीकृत भए पनि हमासले अझै अस्वीकार गरिरहेको बताए।
हमासले स्थायी युद्धविराम, मानवीय राहत, र गाजाको पुनर्निर्माणको प्रत्याभूति सहित तीन चरणमा ६० दिनको युद्धविराम प्रस्ताव गरेको छ। प्रस्तावमा गाजाको अस्पताल, विद्यालय र पाकशालाहारु (पाउरोटी र केक )मर्मत गर्न निर्माण सामग्रीको अनुमति र विद्युत, पानी र सरसफाई पूर्वाधार बहालीको माग गरिएको छ।
हमासले बन्धक र इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको विवरण आदान प्रदान गर्न तयार रहेको जनाएको छ। ट्रम्पले व्यक्तिगत रूपमा युद्धविरामको घोषणा गर्ने उल्लेख गरिएको प्रस्तावमा अमेरिकी प्रतिबद्धता र इजिप्ट तथा कतारको मध्यस्थताको प्रत्यभूति दिइएको छ।
तर इजरायलले हमासको पूर्ण निशस्त्रीकरण र सबै ५८ बन्धकको फिर्ती नहुन्जेल शान्ति अस्वीकार्य रहने अडान दोहोर्याएको छ।
यसैबीच, इजरायली सेनाले मे १३ मा गाजामा हमासका प्रमुख मोहम्मद सिन्वारको हत्या गरेको पुष्टि गरेको छ। उनी अक्टोबर २०२३ मा इजरायलमाथिको आक्रमणका योजनाकार याह्या सिन्वारका भाइ थिए। गाजामा आक्रमण र मानवीय संकटबीच वार्ता अझै अनिश्चित छ।
आइतवारका दिन गाजाको दक्षिणी भागमा रहेको रफाहको पश्चिमतर्फ सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाले गोली चलाउँदा कम्तीमा २१ जनाको मृत्यु भएको र १७९ जना घाइते भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एपीद्वारा उद्धृत स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार गोलीबारी करिब १,००० गज टाढा सहायता वितरण केन्द्र नजिक भएको थियो, जुन अमेरिका र इजरायल समर्थित गाजा मानवता प्रतिष्ठानद्वारा सञ्चालित छ।
प्रतिक्रिया