गर्भवती प्रेमिका, पेटमा रहेको बच्चा र पसल कर्मचारीको हत्या गर्ने मेरिल्यान्डका युवकलाई तीनवटा आजीवन कैद,थप ८० वर्षको सजाय

इनेप्लिज २०८२ जेठ १८ गते २२:२३ मा प्रकाशित

अमेरिकाको मेरिल्यान्ड राज्यका ३४ वर्षीय टोरे मोरलाई आफ्नी गर्भवती प्रेमिका, उनीहरूको नजन्मिएको शिशु र एक पसल कर्मचारीको हत्या अभियोगमा तीनवटा आजीवन कैदको सजाय सुनाइएको छ। यो घटनालाई मोन्टगोमेरी काउन्टीको इतिहासमा पहिलोपटक जीवित भ्रूणको हत्या सम्बन्धी दोषीको रुपमा लिइएको छ।

यो भयावह घटना डिसेम्बर २०२२ मा एक ६१ वर्षीय पसल कर्मचारी आयाल्यु वोनडिमुको गोली हानी हत्या गर्दै सुरु भएको थियो। घटनापछि मोरको आवासगृह (अपार्टमेन्ट)मा छापा मार्दा ८ महिनाभन्दा बढी गर्भवती २६ वर्षीया डेनिस मिडलटनको कुहिएको शव कम्बल मुनि फेला परेको थियो। ती महिला मोरकी प्रेमिका थिइन् र गर्भमा रहेको शिशुको नाम “इजेकियल” राखिएको थियो।

प्रहरी अनुसन्धान अनुसार मोरले आफ्नै फ्ल्याटमा प्रेमिका मिडलटनलाई गोली हानेर हत्या गरे । करिब दुई महिना शव त्यही छाडेर नर्थक्यारोलाइना र क्यालिफोर्निया गए। सो क्रममा उनले गुगलमा “हत्या ढाकछोप गर्ने उपाय” खोजिरहेको प्रमाण भेटिएको थियो।

एनबिसीवाशिंगटनले समाचारमा उल्लेख गरे अनुसार मोरले प्रयोग गरेको हतियार सबै तीन हत्यामा एउटै प्रयोग गरिएको थियो।

अदालतले मोरलाई तीनवटा प्रथम श्रेणीको हत्यामा दोषी ठहर गर्दै तीनवटा आजीवन सजाय र थप ८० वर्षको सजाय सुनाएको हो। सजायको बेला मोर मौन बसे।

प्रतिक्रिया