रूसको कडा प्रतिक्रिया : “ट्रम्पले युक्रेन युद्धबारे पूरा बुझ्न सकेका छैनन्”

इनेप्लिज २०८२ जेठ १६ गते १०:१० मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका शीर्ष सहयोगी युरी उशाकोभले राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनमाथिको रूसी आक्रमणबारे पर्याप्त जानकारी नपाएको टिप्पणी गरेका छन्। ट्रम्पले हालै पुटिनलाई शान्ति सम्झौतामा अघि नबढेको भन्दै रुस आगोसँग खेलिरहेको आरोप लगाएका थिए ।

उशाकोभले एक अन्तरवार्तामा भने, “हामी ट्रम्पको सबै भनाईहरू पढ्छौं, तर धेरैपटक उनलाई युक्रेन–रूस संघर्षको यथार्थ अवस्था बारे जानकारी पुगेको देखिँदैन।”

उनले थपे, “उनी (ट्रम्प) युक्रेनले रूसी शहरहरूमा गरिरहेका आतंककारी आक्रमणहरूको बारेमा जानकारी विहीन छन्। उनले हाम्रो प्रतिआक्रमण मात्र देखेका छन्।”

यसैबीच, रूसी रक्षा मन्त्रालयले १२ प्रान्तमा रातभरमा २९६ वटा युक्रेनी मानव रहित यान (ड्रोन) खसालिएको दाबी गरेको छ। मस्कोमा मात्रै ४२ मावव रहित यान (ड्रोन) खसालिएको बताइएको छ, जसले केही घरहरूमा क्षति पुर्‍याएको छ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग भने, “पुटिनसँग शान्ति सम्झौता गर्न नचाहेको देख्दा म निराश छु।” उनले दुई हप्ताभित्र स्थिति स्पष्ट हुने पनि बताए।

ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध नलगाएको कारण खुलाउँदै भने, “म सम्झौतामा नजिक छु। म यो युद्ध अन्त्य गर्न चाहन्छु – यो मेरो होइन, बाइडेन, जेलेंस्की र पुटिनको युद्ध हो।”

युक्रेनी राष्ट्रपति जेलेंस्कीले ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्ता गर्न आफू तयार रहेको बताए। रूसले जुन २ मा इस्तानबुलमा दोस्रो चरणको वार्ता प्रस्ताव गरेको छ।

प्रतिक्रिया