अमेरिकी संघीय न्यायाधीश लुइस लिमनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा न्यूयोर्क शहरको ‘कन्जेसन प्राइसिङ’ (भीड शुल्क) कार्यक्रम अन्त्य गराउने प्रयासलाई अस्थायी रूपमा रोक लगाएका छन्।
मंगलवार दिइएको आदेशमा न्यायाधीशले ट्रम्प प्रशासनलाई न्यूयोर्क राज्य वा स्थानीय निकायहरूलाई संघीय कोष, अनुमोदन वा अधिकारहरू रोकेर दबाब दिने कुनै कदम चाल्न प्रतिबन्ध लगाए। यो आदेश जुन ९ सम्म लागु हुनेछ।
यो कदम महानगर यातायात निकाय (मेट्रोपोलिटन ट्रान्सपोर्टेसन अथोरिटी)ले संघीय सरकारलाई अदालतमा चुनौती दिँदै अस्थायी आदेश मागेपछि आएको हो।
न्यूयोर्क गभर्नर केथी होचुलले यसलाई “न्यूयोर्क यात्रुहरूका लागि ठूलो जित” बताइन्। उनले भनिन्, “न्यायाधीश लिमनको आदेशले हामीलाई आफ्ना सडकबारे निर्णय गर्ने अधिकार सुरक्षित गर्छ। यो कार्यक्रमले शहरको यात्रुभिड घटाउने, स्वच्छ हावा बचाउने र सार्वजनिक यातायातको सुधारका लागि लगानी जुटाउने उपाय हो।”
भीड शुल्क योजनाले जनवरी ५ बाट लागु भई ६० औं स्ट्रिट (मार्ग )भन्दा तलको म्यानह्याटन प्रवेशमा सवारी साधनहरूलाई शुल्क लगाउने व्यवस्था गरेको छ। यसको पहिलो महिनामै करिब ५० मिलियन आम्दानी भई वर्षको अन्त्यसम्म ५०० मिलियन आम्दानी हुने अनुमान गरिएको छ।
योजना अनुसार भिड समयमा कारहरूलाई ९ : ०० डलर ,साना मालबाहक गाडी र यात्रीयान (बस)हरूलाई १४.४० डलर, र ठूला माला बाहक तथा पर्यटक यात्रीयानहरूलाई २१.६० डलर शुल्क लाग्छ।
यो अमेरिका भरिको पहिलो यस्तो कार्यक्रम हो, जसलाई ट्रम्प प्रशासनले “अवैधानिक र अन्यायपूर्ण” भन्दै फिर्ता गर्न दबाब दिइरहेको थियो।
प्रतिक्रिया