हत्यारा र बलात्कारी पूर्व प्रहरी प्रमुख कारागारबाट फरार, अर्कान्सासमा आपतकालीन फरार अपराधीको खोजी सुरु

इनेप्लिज २०८२ जेठ १३ गते ९:४१ मा प्रकाशित

अमेरिकाको अर्कान्सा राज्यमा एक खतरनाक अपराधी फरार भएपछि आपतकालीन खोजी अभियान सुरु गरिएको छ। हत्या र बलात्कारको आरोपमा कारागार सजाय भोगिरहेका ५६ बर्षिय पूर्व प्रहरी प्रमुख ग्रान्ट हार्डिनआइतवार अपराह्न क्यालिको रकस्थित उत्तर मध्य इकाइ झ्यालखाना बाट भागेका हुन्।

अर्कान्सास कारागारका अनुसार, हार्डिन २०१७ देखि ३० वर्षे हत्या अभियोगमा सजाय भोग्दै आएका थिए । उनलाई बलात्कारको अर्को मुद्दामा समेत सजाय सुनाइएको थियो।

हार्डिन गेटवे शहरका पूर्व प्रहरी प्रमुख हुन्। उनले २०१७ मा शहरको पानी आपूर्ति विभागमा कार्यरत कर्मचारी जेम्स एपलटन (५९) लाई उनको मालबाहक गाडीमा गोली हानी हत्या गरेको स्वीकार गरेका थिए। एपलटनको मृत शरीर मालबाहक गाडी भित्रै अनुहारमा गोली लागेको अवस्थामा फेला परेको थियो।

स्थानिय पत्रिका केएनडव्लुएअनुसार, हार्डिनलाई राज्य कारागारमा राखिँदै गर्दा लिइएको डीएनए नमुनाले उनलाई १९९७ मा एक शिक्षकमाथि भएको बलात्कार घटनासँग पनि जोडेको थियो, जुन घटना पहिलेदेखि समाधान भएको थिएन।

प्रहरीले चेतावनी दिँदै यदि हार्डिन भएको स्थानबारे जानकारी छ भने तुरुन्तै नजिकको प्रहरी निकायलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

यो घटनाले राज्यमा सुरक्षा संकट निम्त्याएको छ। प्रहरी अहिले व्यापक खोजी अभियानमा छन्।

प्रतिक्रिया