मन्त्री यादवद्धारा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको बिदाई

इनेप्लिज २०८२ जेठ ९ गते १०:३० मा प्रकाशित

काठमाडौँ, ८ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गर्नु भएको छ ।

मक्कामा हज (विशेष प्रकारको नमाजर प्राथना) गर्न नेपाली मुस्लिम दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफुले
विमानस्थलमै पुगेर उहाँहरुलाई बिदाई गरेको मन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हजका लागि जाने ‘हाजी’ हरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर मैले फुलमाला तथा खादा लगाई बिदाई गरेको छु । उहाँहरुको यात्रा धर्म, आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु ।”

मन्त्री यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भई फुलमाला, खादा लगाई बिदाई गर्नुका साथै हज यात्रुहरूलाई सफल यात्रा, धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

मन्त्री यादवले व्यक्तिगत रुपमा खादा र मालाले सम्मान गर्नु भएपछि हज यात्रीहरूले भावुक हुँदै धन्यवाद व्यक्त गरेका थिए । मुस्लिम धर्मावलम्बीको  आस्था र भरोसाको रूपमा  चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षै पिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् ।

नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१  जना जाने जनाइएको छ । पहिलो चरणको लागि यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया गएका जनाइएको छ ।

देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरुलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गरेर पठाएपछि केन्द्रिय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ ।  

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरु आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् ।

साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा बिशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि बिश्वभरिबाट मुस्लिमहरु मक्का पुग्ने गर्दछन् ।

प्रतिक्रिया