भिक्टोरिया डे मा नेपाली परेड

सुरेन उप्रेती पाँचथर हाल बिसी भिक्टोरिया २०८२ जेठ ८ गते १०:०३ मा प्रकाशित

मे महिनाको १९ तारिख सोमबारका दिन बृटिस कोलम्वियाको राजधानी भिक्टोरियामा भिक्टोरिया डे धुमधामका साथ मनाईयो । यो एकसय पच्चिसौं भिक्टोरिया डे थियो । क्यानडालाई सार्वभौम सम्पन्न देश बनाउन महारानी भिक्टोरियाले योगदान गरेको हुनाले मे महिनाको २४ तारिखलाई भिक्टोरिया डेको रूपमा मनाउन थालियो । सन १८४५ देखि प्रान्तिय संसदले महारानी भिक्टोरियाको जन्म दिन मे २४मा मनाउन शुरू गरेको थियो । कुनै बर्ष मे २५ मा आईतबार परे सोही दिन बिदा दिने र भव्यरूपमा भिक्टोरिया डे मनाउन थालियो । सन १९०१मा रानी भिक्टोरियाको मृत्यु पश्चात मे २४ अथवा मे २५मा आईतबार परे सोही दिनलाई भिक्टोरिया डे मनाउन शुरू थालियो । सन १९५२मा क्यानडाको संसदले मे २५ भन्दा अगाडिको सोमबारलाई राष्ट्रिय बिदा दिने र सोही दिनलाई भिक्टोरिया डेका रूपमा मनाउने कुरा पारित गर्यो । त्यस पश्चात मे महिनाको पच्चिस तारिख भन्दा पहिलाको सोमबारलाई भिक्टोरिया डेका रूपमा निरन्तर मनाइँदै आएको छ । भिक्टोरिया डेका दिन बिभिन्न बेण्डहरूले आफ्ना बाजागाजाहरू बजाएर परेड गर्दछन् ।

बिभिन्न संघसंस्था र समूदायले आफ्ना समूदाय र देशको संस्कृति झल्कने झाँकीहरू प्रदर्शन गर्दछन् । यस पटकको भिक्टोरिया डे परेडमा करिब सत्तरीहजार जनसमूदायले प्रतक्ष भाग लिएको कुरा सिविसी रेडियोले प्रसारण गरेको थियो । सिबिसी टेलिभिजनले प्रत्यक्ष प्रसारणगरिरहेको थियो । बिभिन्न समूदायका प्रतिनिधिहरूसँग अन्तर्वार्ता प्रसारण गर्यो । मेक्सिकन, जमैकन, यूक्रेनियन, चाइनिज ,जापानिज, फिलिपिनो ,पोलिस, अफ्रिकन, पंजावी, नेपाली आदि सयौँ समूदायहरूले नृत्य, बाजागाजा , झाँकी र पहिरन सहित परेडमा भाग लिए । अमेरियका का बिभिन्न शहरहरूबाट बेण्डहरू आएर परेड खेल्ने प्रचलन रहेछ । यसपटक पनि बिभिन्न बेण्डहरू सहभागी भएका थिए । ती वेण्डका प्रतिनिधिहरू अमेरिकाको झण्डा राखेर क्यानडा आउँदा असहज महषुस भएको थियो । तर यहाँको सौहाद्रता देखेर हामी उत्साहित भएका छौ भन्दै प्रतिक्रिया दिए ।

भिक्टोरियामा रहेको नेपालीहरूको संस्था Nepalese Society of Vancouver Island (NSVI) भ्याङ्कुभर आइलेण्डको नेपाली समाजले परेडमा भाग लिन नेपालीहरूलाई अनुरोध गरेको थियो ।सहभागीहरूले मादल, खैंजडी जस्ता बाजागाजा र नेपाली लाखेको मास्क लगाएर नृत्य प्रस्तुत गरेका थिए । नेपाली दौरासुरूवालमा सजिएका पुरूषहरू र नेपाली गुन्यूचोलीमा सजिएका महिलाहरू परेडको आकर्षण बनेका थिए । ब्यानरका अग्रपंतीमा अन्जुली शर्मा र शिखा मरठ्ठाले नृत्य गर्दै परेडमा सामेल भएका थिए । उनीहरूका साथमा साना नानीहरू माइशा खड्का र गिरिषा खड्काले नेपाली पहिरन साडी र चोलो
लगाएर नृत्य गर्दा सबैको नजर उनीहरूमा केन्द्रित भएको थियो । प्रवासको व्यस्त समयमा कामबाट बिदा लिएर आफ्नो मातृभूमि र देशको पहिचानका लागि हिँड्नु हुने सबै सहभागीहरू धन्यवादको पात्र हुनु हुन्छ । सानै उमेरमा नानीबाबुहरूलाई नेपाली भाषा साहित्य संस्कृति प्रति आकर्षित गराउन आफ्नो समय दिनु हुने अविभाकहरूले नै नेपालीहरूको पहिचान जोगाउने र फैलाउने काम गरेको छ । भ्याङ्कुभर आइलेण्डको नेपाली समाजलाई कार्यक्रमको आयोजना र नेतृत्व गरेकोमा सबै नेपाली मनहरूले धन्यवाद व्यक्त गर्दछन् ।

प्रतिक्रिया