“सन्धि होस् वा नहोस्, युरेनियम प्रशोधन जारी रहनेछ” – इरानको कडा चेतावनी

इनेप्लिज २०८२ जेठ ६ गते ९:५५ मा प्रकाशित

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आइतबार स्पष्ट शब्दमा भने, “युरेनियम प्रशोधन कार्यक्रम कुनै पनि सन्धिबिना रोकिँदैन।” उनले अमेरिका र इरानबीच चलिरहेको आणविक वार्ताको सन्दर्भमा एक्स (पूर्व ट्विटर) मा वक्तव्य जारी गर्दै इरानको शान्तिपूर्ण आणविक कार्यक्रमबारे धारणा राखे।

अराघचीले भने, “अमेरिकामा सत्तासीन हुनेहरूले पहिलेको प्रशासनजस्तो दबाब समूह वा गलत मनसाय भएका तत्वहरूको प्रभावमा नपरेर व्यवहार गर्नु पर्छ।”*उनले इरानको रणनीति सार्वजनिक स्थानमा वार्ता नगर्नु रहेको उल्लेख गरे।

उनले भने, “प्रशोधन प्रविधिमा इरानले गरेको प्रगति रक्त र सम्पत्तिको बलिदानबाट प्राप्त भएको हो। यो हाम्रो आत्मनिर्भर वैज्ञानिक उपलब्धि हो।” उनले आणविक हतियार नबनाउने सुनिश्चितताका लागि इरान वार्तामा तयार रहेको तर “प्रशोधन भने रोकिने छैन”भनी दोहोर्याए।

यो बयान त्यसपछि आएको हो जब राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकाले इरानलाई नयाँ आणविक प्रस्ताव दिएको घोषणा गरेका थिए । ट्रम्पले भने, “यदि इरानीहरू चाँडो अघि बढेनन् भने केही नराम्रो हुन सक्छ।”

ट्रम्प सत्तामा आएपछि ओमानमा चार चरणको वार्ता भइसकेको छ। यता अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार, २०२५ को सुरुमा इरानको ६०% प्रशोधित युरेनियमको भण्डार १८२ केजीबाट २७५ केजीमा पुगेको छ।

अमेरिकी विदेश सचिव मार्को रुबियोले भने, “६०% पुगेपछि, तपाई ९०% बाट मात्र एक कदम टाढा हुनुहुन्छ। इरान अब प्रायः आणविक हतियार राष्ट्र बनेको छ।”

प्रतिक्रिया