भेटिकन सिटी, मे १८ — क्याथोलिक गिर्जाघर (चर्च)को इतिहासमा पहिलो पटक एक अमेरिकी नागरिक पोप (सर्वोच्च धर्मगुरु)बनेका छन्। पोप लियो १४ औ को औपचारिक उद्घाटन शनिबार भेटिकनको सेंट पिटर स्क्वायरमा भव्य समारोहका साथ सम्पन्न भएको हो ।
समारोहमा विश्वका शीर्ष नेताहरू, शाही प्रतिनिधिहरू, र झन्डै २.५ लाखभन्दा बढी भक्तजन सहभागी भए।
पोप सवार विशेष सवारीसाधनमा १४ औँलाई देखेर उपस्थित जनसमुदायले “विभा इल पापा!” अर्थात् पोप दीर्घायु हुन्! भन्दै चिच्याएर स्वागत गरे। यात्रा क्रममा पोपले बालबालिकालाई माया गर्ने क्रममा एक बालकलाई चुम्बन दिँदा भावनात्मक क्षण सृजना भएको थियो।
दुई घण्टे लामो उद्घाटन क्याथोलिक पूजा समारोहमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशसचिव मार्को रुबियो, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, र पेरूकी राष्ट्रपति डिना बोलुआर्ते उपस्थित थिए। पोप लियोले पेरूमै लामो समय धर्म प्रचारक (मिसनरी) र धर्मगुरु (बिशप)का रूपमा सेवा गरेका थिए।
क्याथोलिक पूजा समारोहको क्रममा पोपलाई पलियम (पशु ऊनबाट बनेको पादरी वस्त्र) र फिसरम्यान्स रिङ*(सन्त पिटरको प्रतीक औंठी) प्रदान गरियो। यी चिन्हहरू पोपको आध्यात्मिक उत्तराधिकारीको भूमिकाको प्रतीक हुन्। औंठी ग्रहण गर्नेबेला पोप भावुक देखिन्थे।
पोप लियोले प्रवचनमा चर्चमा “धार्मिक प्रचार र शक्ति प्रदर्शनको स्थान छैन” भन्दै एकताको सन्देश दिए। साथै, पृथ्वीको स्रोत दोहन गर्ने र समाजका केही वर्गलाई पन्छाउने आर्थिक प्रणालीको आलोचना गर्दै उनले न्याय र दयाको पक्षमा आवाज उठाए।
पोप लियोको आधिकारिक कार्यकाल यही मे १८ बाट सुरु भएको हो । भेटिकनले सुरक्षा कडा पारेको छ र विश्वभरबाट १५० भन्दा बढी देशका प्रतिनिधिहरू उपस्थित छन्।
प्रतिक्रिया