टर्कीमा शान्ति वार्ता: ट्रम्पको पहललाई समर्थन, तर रुस फेरि हमला गर्ने तयारीमा

इनेप्लिज २०८२ जेठ २ गते ११:२८ मा प्रकाशित

अंकारा/इस्तानबुल — युक्रेन र टर्कीका राष्ट्रपतिहरूबीच बिहीबार अंकारामा महत्वपूर्ण वार्ता सुरु भएको छ। टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग भेटपछि मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले इस्तानबुलमा रुसी प्रतिनिधिसँग भेट गर्ने निर्णय लिने जनाएका छन्।

टर्की सरकारले यस साता प्रारम्भमै “शान्तिका लागि मध्यस्थता र वार्ता आयोजना गर्न सकिने सबै प्रकारका समर्थन गर्न तयार छौं” भनेर स्पष्ट पारेको थियो।

यद्यपि रूसले उच्च तहको प्रतिनिधि नपठाएकोमा युक्रेनले असन्तुष्टि जनाएको छ। विदेशमन्त्री अन्द्रिई सिबीहाले सार्वजनिक रूपमा भने, “युक्रेनले ट्रम्पद्वारा प्रेरित न्यायोचित शान्तिका प्रयासमा समर्थन जनाउँदै उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको हो।”

नेटो सदस्य राष्ट्र भए पनि टर्कीले रुससँग “विशेष सम्बन्ध”* रहेको दाबी गर्दै कूटनीतिक सन्तुलन राख्दै आएको छ। यसअघि टर्कीले कालो सागर अन्न सम्झौता गराएर ऐतिहासिक भूमिका खेलेको थियो, जुन रूसले २०२३ मा तोडेको हो।

अर्कोतर्फ, अमेरिकी अधिकारीहरूले रूसले युद्धको नयाँ चरण सुरु गर्ने तयारी गरिरहेको भन्दै चेतावनी दिएका छन् । पूर्वी युक्रेनमा ठूलो सेना संकलन गर्दै “कीभको छेउसम्म अगाडि बढ्ने योजना”बनाइरहेको बताइएको छ।

अमेरिकी मूल्यांकनअनुसार,युक्रेन अहिले जनशक्ति संकट झेलिरहेको छ। तर मानव रहित यान (ड्रोन )प्रणाली र बारुदी सुरुङहरूले रूसी सेनालाई रोकिरहेको छ । खासगरी पूर्वी युक्रेन र रसियाको कुर्स्क क्षेत्रमा।

शान्तिका प्रयासहरू भइरहँदा पनि रूसी रणनीति अझ आक्रामक बन्दै गएको देखिन्छ। टर्कीमा हुने सम्भावित वार्ताले युद्धको मोड बदल्ने कि पुनः असफल कूटनीति बन्ने हो, त्यो समयले देखाउनेछ।

प्रतिक्रिया