राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादमा आयोजित गल्फ कोअपरेसन काउन्सिल ( खाडी सहकार्य परिषद् ) को सम्मेलनलाई सम्बोधन गर्दै मध्यपूर्वको भविष्यको खाका प्रस्तुत गरे। चारदिने क्षेत्रीय भ्रमणको क्रममा उनले इरानसँग सम्झौता गर्न चाहेको दोहोर्याए । र ,अब्राहम सम्झौतामा थप देशहरूलाई समावेश गर्दै शान्तिको मार्ग बलियो बनाउने योजना घोषणा गरे।
“म इरानसँग सम्झौता गर्न चाहन्छु, तर त्यसका लागि उसले आतङ्कको समर्थन रोक्नुपर्छ, रक्तपातपूर्ण प्रतिनिधि युद्धहरू अन्त्य गर्नुपर्छ, र आणविक हतियार प्राप्त गर्ने प्रयास स्थायी रूपमा रोक्नुपर्छ। इरानसँग आणविक हतियार हुन सक्दैन,” ट्रम्पले स्पष्ट रूपमा भने।
ट्रम्पले यूएई र बहराइनले २०२० मा हस्ताक्षर गरेका ऐतिहासिक अब्राहम सम्झौताको साहसिक कदमको प्रशंसा गरे। उक्त सम्झौताबाट दुबै देशले इजरायल लाई मान्यता दिएर पूर्ण कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए।
ट्रम्पले सिरियाली अन्तरिम राष्ट्रपति अहमद अल–शराआसँगको भेटपछिको सम्बोधनमा लेबननलाई पनि चर्चा गरे। उनले भने, “लेबनानले हेज्बुल्लाह आतङ्ककारीहरूको नियन्त्रण मुक्त भविष्य बनाउने मौका पाएको छ, यदि नयाँ राष्ट्रपति र प्रधानमन्त्रीले सशक्त राष्ट्र निर्माण गर्न सके।”
सम्बोधनको अन्त्यमा ट्रम्पले भने, “हामी यस्तो मध्यपूर्व निर्माण गर्दैछौं, जुन विश्वको भौगोलिक केन्द्रमा रहेको समृद्ध व्यापारिक, कूटनीतिक र सांस्कृतिक केन्द्र बन्नेछ।”
बुधबार ट्रम्प दोस्रो चरणको भ्रमणका लागि कतार जाने कार्यक्रम छ।
प्रतिक्रिया