तीन वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धमा युक्रेनको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि रूसले आइतबार राति १०० भन्दा बढी इरानी शहिद र डिकय मानव रहित यान (ड्रोन )युक्रेनमा प्रहार गरेको युक्रेनी वायुसेनाले सोमबार जानकारी दिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टर्कीमा प्रत्यक्ष वार्ताको चुनौती दिए पनि क्रेमलिनले कुनै प्रतिक्रिया दिएको छैन।
संयुक्त राज्य अमेरिका र युरोपेली नेताहरूले युद्ध रोक्न कूटनीतिक प्रयास गरिरहे पनि दुवै पक्षका लाखौ सैनिक र १०,००० भन्दा बढी युक्रेनी नागरिकले ज्यान गुमाइसकेका छन्। रूसले युक्रेनको करिब एक-पाँचौं भूभाग नियन्त्रणमा लिइसकेको छ।
सप्ताहन्तमा भएको कूटनीतिक गतिविधिमा अमेरिका र युरोपेली नेताहरूले पेश गरेको ३० दिनको बिना सर्त युद्धविराम प्रस्तावलाई रूसले अस्वीकार गर्दै बिहीबार प्रत्यक्ष वार्ताको प्रस्ताव अघि सारेको हो।
युक्रेनले सोमबारबाट युद्धविराम लागू गर्न माग गर्दै वार्ताको लागि तत्परता देखाएको थियो। तर, रूसले त्यो प्रस्ताव अस्वीकार गरी वार्ता केवल इस्तानबुलमा प्रत्यक्ष रूपमा गर्नुपर्ने अडान लियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसी प्रस्ताव स्वीकार गर्न आग्रह गरे। जेलेंस्कीले अझै एक कदम अघि बढ्दै पुटिनलाई प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन्।
युद्धको प्रारम्भिक चरण सन् २०२२ मा पनि जेलेंस्कीले पुटिनसँग भेटको आग्रह गरेका थिए, तर त्यो अस्वीकृत भएपछि उनले वार्ता असम्भव भएको घोषणा गरेका थिए। ट्रम्पले दुवै पक्षबीचको “गहिरो घृणा” का कारण शान्ति प्रक्रियामा अवरोध भइरहेको बताएका छन्।
प्रतिक्रिया