पाकिस्तानका विदेशमन्त्री इशाक दारले भारतसँग तत्काल प्रभावबाट युद्धविरामको औपचारिक घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भने, “पाकिस्तान र भारत तत्काल प्रभावबाट युद्धविराममा सहमत भएका छन्।”
विदेशमन्त्री दारले थपे, “पाकिस्तानले सधैं क्षेत्रीय शान्ति र सुरक्षाको पक्षमा काम गरेको छ, र यस क्रममा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा कहिल्यै सम्झौता गरेको छैन।”
दारले जियो दूरदर्शन (टिभी)लाई दिएको अन्तर्वार्तामा भारतसँगको सहमति पूर्ण युद्धविराम भएको प्रस्ट पारे। उनका अनुसार, दुबै देशले सैन्य प्रत्यक्ष सम्पर्क माध्यम तथा संचार माध्यमहरू सक्रिय गरेका छन्, जसले द्विपक्षीय संवादलाई निरन्तरता दिने आशा जगाएको छ।
भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार आज दिउँसो पाकिस्तानका सैन्य प्रमुखले भारतीय समकक्षीलाई दूरवार्ता गरेर स्थल, आकाश र समुद्र – सबै मोर्चामा सैन्य कारवाही रोक्ने सहमति जनाएका हुन्। यो सहमति आज साँझ ५ बजे (भारतीय समय अनुसार) कार्यान्वयनमा आउनेछ।
दुबै सैन्य प्रमुख बीच १२ मेमा पुनः वार्ता हुने तय भएको छ।
प्रतिक्रिया