युक्रेन सीमावर्ती रुसी क्षेत्र ब्रयान्स्कमा रेल दुर्घटना र पुल भत्किँदा ७ को मृत्यु, ३० घाइते

इनेप्लिज २०८२ जेठ १९ गते ०:३२ मा प्रकाशित

रुसको युक्रेन सीमावर्ती ब्रयान्स्क क्षेत्रमा एक रेल दुर्घटना र पुल भत्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । रोयटर्सका अनुसार ३० जना अस्पतालमा भर्ना गरिएका छन्।

रूसी अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका अनुसार “अवैध हस्तक्षेप” का कारण पुलको संरचना भत्किएपछि रेलको यन्त्र र धेरै डब्बाहरू मार्गबाट उछिट्टिएका थिए।

ब्रयान्स्कका गभर्नर अलेक्जान्दर बोगोमाजका अनुसार घाइतेहरूमा दुई बालबालिकासमेत छन्, जसमा एकको अवस्था गम्भीर छ। मृतकमध्ये एक रेल यन्त्र चालक रहेको रुसी सञ्चार माध्यमहरूले जनाएका छन्।

रुसी आपतकालीन मन्त्रालयले करिब १८० जना उद्धारकर्मीपरिचालन गरिएको बताएको छ। उद्दार कार्य अझै जारी रहेको समाचारमा जनाइएको छ।

रुसको “बाजा” टेलिग्राम च्यानल(संचार माध्यम)ले प्रारम्भिक सूचनाका आधारमा पुल बम विस्फोटबाट उडाइएको हुन सक्ने दाबी गरेको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन। युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

रोयटर्सका अनुसार ब्रयान्स्क, कर्स्क र बेलगोरोड जस्ता सीमावर्ती रुसी क्षेत्रहरूमा युक्रेनबाट मानव रहित यान (ड्रोन )आक्रमण, तोप हमला र गुप्त छापा जारी छन्।

दुर्घटनाग्रस्त रेल क्लिमोभो शहरबाट मस्को जाँदै थियो। यो दुर्घटना भायगोनीचस्की जिल्ला नजिक भएको हो, जुन युक्रेनको सीमाबाट करिब १०० किमी टाढा पर्छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किभबीच शान्ति सम्झौताका लागि वार्ता गर्न आग्रह गरेका छन्। रुसले अर्को हप्ता इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको छ, तर युक्रेनले अझै भाग लिने निर्णय गरेको छैन।

प्रतिक्रिया