“ट्रम्पको धमाकेदार घोषणा: बेलायतसँग ऐतिहासिक व्यापार सम्झौता, अमेरिकी निर्यातमा ५ बिलियन डलरको अवसर खुला”

इनेप्लिज २०८२ वैशाख २५ गते १६:५७ मा प्रकाशित
Screenshot

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार व्‍हाइट हाउसबाट बेलायतसँग व्यापार सम्झौताको घोषणा गरे। उनले यो सम्झौता “धेरै सम्झौताहरूको पहिलो” हुने बताए। बेलायती प्रधानमन्त्री कीयर स्टारमरले ट्रम्पको घोषणाको क्रममा दूरवार्तामार्फत सम्वाद गरे।

ओभल कार्यलयमा राष्ट्रपति ट्रम्प र उनका मन्त्रिमण्डलसँगै बेलायती राजदूत पिटर म्यान्डेलसनले बताएअनुसार ट्रम्पले अन्तिम घडीमा बेलायती प्रधानमन्त्रीलाई दूरभाष गरेर थप फाइदा मागेका थिए। म्यान्डेलसनले भने, “उहाँले हामीले सोचेभन्दा धेरै कुरा सम्झौतामा समेट्न चाहनुभयो।”

सम्झौताको घोषणा हुनासाथ अमेरिकी सेयर बजार थोरै उकालो लाग्यो। डाउ जोन्स २३५ अंकले (०.५७%) बढ्यो, एसएण्डपी ५०० ०.५४% उकालो लाग्यो र प्रविधिमूलक नासडाक ०.७% ले चढ्यो।

अमेरिकाका वाणिज्य सचिव हावर्ड लुटनिकले यो सम्झौताले अमेरिकी निर्यातकर्ताहरूलाई ५ बिलयन डलरको नयाँ बजार अवसर दिने बताए। “बेलायतले बजार खोल्न सहमति जनाएको छ,” लुटनिकले भने। “१०% महसुल कायम राखिँदा अमेरिकाले ६ बिलियन डलर आम्दानी गर्नेछ।”

यसैबीच, लुटनिकले बेलायती विमान कम्पनी र बोइङबीच १० बिलियन डलरको ठूलो सम्झौता आउन सक्ने संकेत दिए। 

बोइङको सेयर ३% ले बढेको छ ।

यद्यपि सम्झौताको प्रारम्भिक घोषणा भएको भए पनि प्रधानमन्त्री स्टारमरले भने, “धेरै विवरण अझै बाँकी छन्।” ट्रम्पले पनि स्वीकारे, “अन्तिम रूप आउँदो हप्तामा तय हुनेछ।” त्यसैले, सम्झौता अझै पूर्णरूपमा अन्तिम भएको छैन।

यस सम्झौताले विश्वव्यापी व्यापारमा नयाँ युगको संकेत दिएको विश्लेषकहरूको भनाई छ।

प्रतिक्रिया